२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

आज सूर्य ग्रहण, कहाँ कहाँ देखिनेछ असर ?

आज सूर्य ग्रहण, कहाँ कहाँ देखिनेछ असर ?

एजेन्सी

वर्षको पहिलो सूर्य ग्रहण शनिबार अबेर राती हुँदैछ । राती हुने भएकोले यो नेपालमा देखिने छैन ।

सूर्य ग्रहण शनिबार राती १२ः३१ मा सुरु हुनेछ र बिहान ४ बजेर २२ मिनेटमा समाप्त हुनेछ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार ग्रहण चिली, अर्जेन्टिना, उरुग्वे, पश्चिमी पराग्वे, दक्षिण–पश्चिम बोलिविया, दक्षिण–पूर्वी पेरु र दक्षिण–पश्चिम ब्राजिलमा देखिनेछ ।

जब चन्द्रमा धर्ती र सूर्यको बीचमा आउँछ तब सूर्य ग्रहण हुन्छ । चन्द्रमाको छायाँ धर्तीमा पर्छ र सूर्यको एउटा हिस्सा वा पूरा सूर्य नै ढाकिने गर्छ ।

पूर्ण सूर्य ग्रहणका लागि धर्ती, चन्द्रमा र सूर्य एउटा सिधा रेखामा आउनुपर्छ ।

ग्रहण बारे डरलाग्दो विश्वास आज पनि कायम छ

संसारमा यस्ता मानिसहरू पनि छन् जसका लागि ग्रहण कुनै खतराको प्रतीक हो – जस्तै संसारको अन्त्य वा भयानक उथलपुथलको चेतावनी ।

हिन्दु पौराणिक कथाहरूमा, यसलाई अमृतमन्थन र राहु–केतु नामक राक्षसहरूको कथासँग जोडिन्छ र यससँग सम्बन्धित धेरै अन्धविश्वासहरू प्रचलित छन् । ग्रहणले निकै अघिदेखि मानिसहरुलाई जति अचम्मित पारेको छ त्यति नै मानिसहरुमा डरसमेत पैदा गरिरहेको छ ।

वास्तवमा, जबसम्म मानिसलाई ग्रहणको कारणबारे सही ज्ञान थिएन, त्यतिबेला उनीहरुले सूर्य वरिपरिको यो कालो छायाँबारेमा धेरै कल्पनाहरू बनाए, धेरै कथाहरू रचे ।

१७ औं शताब्दीका ग्रीक कवि आर्किकलसले भनेका थिए, ‘दिउँसै अँध्यारो छायो र यो अनुभव पछि, अब उनलाई कुनै कुराले पनि छक्क पार्दैनन् । ’

चाखलाग्दो कुरा के छ भने आज पनि ग्रहण लाग्नुको वैज्ञानिक कारण थाहा हुँदा पनि ग्रहणसँग सम्बन्धित यी कथा र अन्धविश्वास कायमै छन् ।

क्यालिफोर्नियाको ग्रिफिथ अब्जर्भेटरीका निर्देशक एडविन क्रुप भन्छन्, ‘सातौँ शताब्दीको उत्तरार्धसम्म पनि अधिकांश मानिसहरूलाई ग्रहण किन हुन्छ वा ताराहरू किन टुट्छन् भन्ने थाहा थिएन । यद्यपि खगोलविद्हरू आठौं शताब्दीदेखि नै यसको वैज्ञानिक कारणहरू बारे सचेत थिए ।’

ग्रहण बारे विभिन्न सभ्यताहरुको दृष्टिकोणः

प्रकाश र जीवनको स्रोत सूर्य लुक्ने कुराले मानिसहरूलाई डराउने गर्दथ्यो र त्यसैले यससँग सम्बन्धित विभिन्न कथाहरू प्रचलित भए । सबैभन्दा व्यापक चर्चा सूर्यलाई निल्ने राक्षसको थियो ।

एकातिर पश्चिम एसियामा ग्रहणको समयमा अजिङ्गरले सूर्यलाई निल्ने प्रयास गर्छ भन्ने मान्यता थियो त्यसैले त्यो अजिङ्गरलाई भगाउन त्यहाँ ढोल बजाइन्थे ।

यस्तै, चीनमा एक विश्वास थियो कि जसले सूर्यलाई निल्ने प्रयास गर्छ त्यो वास्तवमा स्वर्गको कुकुर हो । पेरुवासीहरूका अनुसार, यो एक विशाल प्यूमा थियो र वाइकिंगहरूको मान्यता अनुसार ग्रहणको समयमा आकाशका ब्वाँसोहरूको जोडीले सूर्यलाई आक्रमण गर्ने गर्छ ।

युनिभर्सिटी अफ वेस्टर्न केपका खगोलविद् र प्राध्यापक जरिता होलब्रुक भन्छिन्, ‘ग्रहणहरूबारे विभिन्न सभ्यताहरूको दृष्टिकोण त्यहाँको प्रकृति कति उदार वा अनुदार छ भन्ने कुरामा भर पर्छ । जहाँ जीवन कठिन छ, त्यहाँ देवी–देवताहरु पनि क्रुर र डरलाग्दो भएको कल्पना गरियो, त्यसैले त्यहाँ ग्रहणसँग जोडिएका कहानी पनि डरलाग्दा छन् । जहाँ जीवन सहज छ, पर्याप्त खानेकुरा छन्, त्यहाँ ईश्वर वा पराशक्तिसँग मानिसको सम्बन्ध निकै प्रेमपूर्ण हुन्छ र उनीहरुका मिथ पनि यस्तै हुन्छन् ।’

मध्ययुगीन युरोपमा, विपत्ति र युद्धहरूले जनतालाई सतायो, त्यसैले सूर्यग्रहण वा चन्द्रग्रहणले तिनीहरूलाई बाइबलमा भएको प्रलयको वर्णनको सम्झना गराउँछ । प्रोफेसर क्रिस फ्रेन्च भन्छन्, ‘मानिसहरूले ग्रहणलाई प्रलयसँग किन जोड्ने गर्थे भन्ने कुरा बुझ्न धेरै सजिलो छ ।’

बाइबलमा उल्लेख छ – न्यायको दिनमा सूर्य पूर्णतया कालो हुनेछ र चन्द्रमा रातो रङ्गको हुनेछ ।

सूर्यग्रहण र चन्द्रग्रहण पनि क्रमशः यस्तै हुन्छ । त्यसपछि मानिसको जीवन पनि छोटो थियो र यस्तो खगोलीय घटना जीवनमा एक पटक मात्र हुन सक्थ्यो, त्यसैले पनि यो थप डरलाग्दो थियो ।

बीबीसी

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com