२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारकै अग्रता, निवर्तमान मेयर लालकिशोर पाँचौँ स्थानमा (सुचिसहित)

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारकै अग्रता, निवर्तमान मेयर लालकिशोर पाँचौँ स्थानमा (सुचिसहित)

जनकपुर । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।

गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले ३ हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा हुनुहुन्छ ।

उहाँभन्दा अगाडि एमालेका शिवशङ्कर साह दुई हजार ८६ मतका साथ दोस्रो, स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ११३ मतका साथ तेस्रो र लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गरी चौथो स्थान रहनुभएको छ ।

गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवारको मतपरिणाम निराशाजनक देखिए पनि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार बन्नुभएका कांग्रेसका किशोरी साहले भन्ने सुरुदेखि नै अग्रता कायम राख्नुभएको छ । उहाँले तीन हजार ४४२ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ भने एमालेका रुना झाले एक हजार ७३७ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

कूल २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको हालसम्म सम्पन्न सातवटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं १ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव ९देवु०, वडा नं २ मा कांग्रेसकै शिवकुमार साह, वडा नं ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं ४ मा कांग्रेसका सुरेश झा, वडा नं ५ मा एमालेका बेचन साह हलुवाइ, वडा नं ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं २५ को वडाध्यक्षमा कांग्रेसकै चन्देश्वर साह विजयी हुनुभएको छ । अन्य वडाको मतगणना कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com