२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

उपमहानगर प्रमुख लामाको योजना : हेटौँडामा प्रसूति र ज्येष्ठ नागरिक अस्पताल

उपमहानगर प्रमुख लामाको योजना : हेटौँडामा प्रसूति र ज्येष्ठ नागरिक अस्पताल

जनसेवा न्युज डटकम संवाददाता

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक जनजाति महिलालाई नगरप्रमुखको रूपमा पाएको छ । महानगरपालिकामा महिलाले नेतृत्व गरेको भए पनि सङ्घीय राजधानीसमेत रहेको प्रदेशको उपमहानगरले महिला नेतृत्व पाउनु आधा आकाश र धर्ती ढाकेका महिलालाई एक प्रकारको गौरवको महसुस गराएको छ ।

संयोग पनि कस्तो परेको छ भने पूर्ववर्ती पार्टीका आफैँले नेतासमेत मानेका चलनचल्तीको भाषामा ‘हेभिवेट उम्मेदवार’लाई पराजित गरेर नयाँ इतिहास कायम गर्ने सुअवसरसमेत प्राप्त भएको छ मीना लामालाई । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा ९एकीकृत समाजवादी०का मीना निर्वाचित भएकी हुन् । सत्तारुढ गठबन्धनको भागबण्डामा हेटौँडा उपमहानगर एकीकृत समाजवादीको हातमा परेको थियो । निर्वाचन अगाडि कम मत भएको जस्ता टिप्पणी गरिएको थियो ।

गठबन्धनका तर्फबाट इमान्दार प्रयास, व्यवस्थित निर्वाचन परिचालनलगायत कारणले लामाले जित निकालेकी हुन्। नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०को सहयोगमा भएको विजयले हेटौँडालाई समृद्ध बनाउने सङ्कल्पलाई पूरा गर्ने विश्वास गरिएको छ ।

उपमहानगरपालिकाको नेतृत्वमा निर्वाचित भएसँगै उनले हेटौँडालाई महिला र बालमैत्री नगर बनाउने प्रतिबद्धता दोहोर्‍याएकी छन् । उनले उपप्रमुख हुँदा आफूले गर्न नसकेको र गर्नैपर्ने काम अब क्रमशः पूरा गर्दै जाने विश्वास बताएकी हुन् ।

नगरप्रमुख लामाले हेटौँडामा महिला र बालबालिकामैत्री वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भए पनि पूर्वाधार बनाउन नसकेको बताउँदै अब आफ्नो कार्यकालमा सो काम पूरा गरेरै छाड्ने दाबी गरिन् ।

महिलामैत्री नगर बनाउनका लागि उपयुक्त सार्वजनिक शौचालय बनाउने र उक्त शौचालयहरूमा सेनिटरी प्याड भेन्डिङ मेसिन जडान गर्ने र बजार क्षेत्रको विभिन्न स्थानमा स्तनपान कक्ष निर्माण गर्ने उनको योजना छ । त्यसका साथै हेटौँडामा महिला नगर परिषद् गठन गर्ने, दलित, बिपन्न, जनजाति तथा पिछडिएका महिलाका लागि सीपमूलक एवं आयआर्जनमुखी कार्यक्रम ल्याउनुका साथै प्राविधिक शिक्षादेखि स्नातक शिक्षासम्म छोरी–बुहारीहरूलाई अनिवार्य अध्ययन गराउनका लागि छात्रवृत्तिको व्यवस्था गरिने जानकारी दिइन् ।

सेफहाउसका साथै महिला छात्रावास निर्माण गर्ने योजनासमेत नगरप्रमुख लामाले सुनाउनुभयो । नगरलाई बालमैत्री बनाउँदै घोषणा गर्ने सपना उपप्रमुख हुँदैमा देखेकाले त्यो कार्य पूरा गर्ने उनको भनाइ छ । विपन्न छात्राहरूका लागि स्नाकोत्तरसम्म अध्ययन गराउने त्यसका लागि छात्रावाससमेत बनाउने उनको योजना छ ।

हेटौँडामा प्रसूति र ज्येष्ठ नागरिक अस्पताल

नगरप्रमुख लामाले हेटौँडामा प्रसूति अस्पताल र ज्येष्ठ नागरिक अस्पताल बनाउने योजनासमेत आफ्नो रहेको कुराकानीमा सुनाइन् । महिलालाई सुरक्षित प्रसूति सेवा दिनका लागि प्रसूति अस्पताल र ज्येष्ठ नागरिकलाई छिटो–छरितो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना पनि आगामी पाँच वर्षमा पूरा हुने उनको भनाइ छ ।

उहाँले आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएको हेटौँडा र त्यहाँका बासिन्दालाई सहज आर्थिकरूपले पनि सम्पन्न बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएर युवालाई रोजगारी प्रदान गरिने बताइन् । त्यसका साथै घोषणापत्रमा उल्लेख गरिएअनुसारको सबै काम गरिने र सुरुआतीरूपमा विपन्न घरधुरीलाई ३०० युनिट बत्ती र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने र यो सुविधा सबै घरधुरीमा पुर्‍याइने योजनालाई कार्यान्वयन गरेरै छाडिने जानकारी दिइन् ।

विद्यार्थीदेखि नगरप्रमुखसम्मको यात्रामा लामा 

विसं २०४६ बाट विद्यार्थी राजनीति सुरु गर्नुभएको लामाले हेटौँडाको त्रिभुवन माविबाट एसएलसी अध्ययनका साथै मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमए गरेकी छन् । हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबीसम्मको अध्ययन गरेकी लामा मकवानपुरभरि नै लोकप्रिय महिला नेतृत्वका रूपमा स्थापित छिन् ।

पढाइसँगै राजनीतिक जीवनलाई निरन्तरता दिँदै आउनुभएका लामा विसं २०५२ मा एमालेनिकट अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष हुँदै २०७१ मा तत्कालीन एमाले मकवानपुरको उपसचिवको जिम्मेवारी सम्हालेकी थिइन् । उनले पार्टीमा विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गरेकोमा लामा २०७१ मा अखिल नेपाल महिला सङ्घको जिल्ला सचिव भइन् ।

विसं २०७२ मा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय सदस्यसमेत भएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष बनिन् । राजनीतिक क्षेत्रमा क्रियाशील लामा २०७४ को स्थानीय तह चुनावमा हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

लामासँग बालविकासको क्षेत्रमा १० वर्षसम्म काम गरेको अनुभव छ । आफूले निजी क्षेत्रबाट बालबालिकाको क्षेत्रमा लामो समय काम गरेकाले महिला र बालबालिकाको क्षेत्रमा रहेका समस्यालाई प्रमुखरूपमा समाधान गर्नुपर्छ भन्ने सोच पलाएको उल्लेख गरिन् ।

 

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com