२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

स्थानीय तहको निर्वाचनमा कुन दल कहाँ निल भए ?

स्थानीय तहको निर्वाचनमा कुन दल कहाँ निल भए ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले दुई जिल्लामा मात्रै पालिकाको मूल नेतृत्वमा जित निकाल्न सकेको छैन । कांग्रेसले पूर्वी रुकुम र दार्चुलामा प्रमुख र अध्यक्षमा उम्मेदवार बनाएका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् ।

प्रमुख प्रतिपक्ष दल एमालेले गोरखा, पूर्वी रुकुम, बाँके, पश्चिम रुकुम, हुम्ला, कालिकोट, मुगु, जुम्ला र डडेलधुरामा गरी नौ जिल्लामा जित निकाल्न सकेन । २५ जिल्लाका स्थानीय तहमा माओवादी केन्द्रका प्रमुख तथा अध्यक्षका उम्मेदवारले हार व्यहोरे ।

प्रमुख दलहरु मध्ये एकीकृत समाजवादीले सर्वाधिक जिल्लामा पराजय भोगेको छ । एकीकृत समाजवादीले ५५ जिल्लाका पालिकाको प्रमुख वा अध्यक्षमा जित हासिल गर्न सकेन ।

प्रदेश १ स् दुई जिल्लामा मात्रै एकीकृत समाजवादी

प्रदेश १ का १४ जिल्लामा एकीकृत समाजवादीले २ जिल्लाका पालिका मात्रै जित निकालेको छ । ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका कुनै पनि पालिकामा प्रमुख वा अध्यक्षमा जित निकाल्न सकेन ।

प्रदेश १ मा सत्ता घटकको दोस्रो दल माओवादी केन्द्रका उम्मेदवारले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा र तेह्रथुममा पालिका प्रमुख वा अध्यक्षमा निर्वाचित हुन सकेनन् ।

मधेस प्रदेश : लोसपा आधार क्षेत्रमा पराजित

मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले आफ्नै आधार क्षेत्रका दुई जिल्लामा जित निकाल्न सकेन । लोसपाले धनुषा र सिरहाका कुनै पनि पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी हुन सकेन ।

सत्ताघटकको एकीकृत समाजवादी प्रदेश २ मा पनि कमजोर रह्यो । मधेश प्रदेशका आठ जिल्ला मध्ये एकीकृत समाजवादीले महोत्तरी, सर्लाही, बारा, पर्सा र धनुषाका पालिकामा प्रमुख र अध्यक्षमा हार व्यहोर्यो ।

माओवादी केन्द्रका प्रमुख र अध्यक्षका उम्मेदवार महोत्तरी र पर्सामा विजयी हुन सकेनन् ।

बागमती प्रदेश : माओवादी र एकीकृत समाजवादी कमजोर

बागमतीमा पनि एकीकृत समाजवादी कमजोर रह्यो । १३ मध्ये ७ जिल्लामा एकीकृत समाजवादीबाट प्रमुख र अध्यक्ष भएर उम्मेवार बनेकाले जित हासिल गर्न सकेनन् । काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा एकीकृत समाजवादीले प्रमुख र अध्यक्षमा जित निकाल्न सकेन ।
सत्तारुढ दलको अर्को सारथि माओवादी केन्द्रले रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरका कुनै पनि पालिकामा मूल नेतृत्वमा जित निकाल्न सकेन ।

गण्डकी प्रदेश : गोरखामा एमालेले खाता खोल्न सकेन

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गोरखाका कुनै पालिकामा पनि जित निकाल्न सकेन । गण्डकीका अन्य जिल्लामा जित निकालेको एमाले गोरखामा मात्रै कुनै पनि पालिकाको नेतृत्वमा पुग्न सकेन । गोरखामा संगठन भएको जसपाले पनि प्रमुख वा अध्यक्षमा माओवादी केन्द्र र कांग्रेसलाई हराउन सकेन ।

गण्डकीका जिल्लामध्ये कास्की, नवलपुर, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, स्याङ्जा, लमजुङमा माओवादीबाट अध्यक्ष र प्रमुखका उम्मेदवार बनेकाले पराजय भोगे । नवलपुर, म्याग्दी, पर्वत, मुस्ताङ, मनाङ, स्याङ्जा, लमजुङ र बागलुङमा एकीकृृत समाजवादीका उम्मेदवारले पनि प्रमुख पदमा सिट बढाउन सकेनन् ।

लुम्बिनी प्रदेश : पूर्वी रुकुममा एमाले र कांग्रेस नै पराजित

कांग्रेस र एमाले दुबै दल विजयी हुन नसकेको एउटा मात्रै जिल्ला बन्यो पूर्वी रुकुम । तिनै तह माओवादी केन्द्र विजयी भएर कांग्रेस र एमालेलाई पछि पार्‍यो ।
यस प्रदेशका १२ जिल्लामध्ये सबै जिल्लामा एकीकृत समाजवादीले पराजय भोग्यो । गुल्मी, पाल्पा, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, प्युठान, रोल्पा, दाङ, बर्दिया, बाँके, नवलपरासी, पूर्वी रुकुममा एकीकृत समाजवादीका प्रमुख र अध्यक्षका उम्मेदवार विजयी हुन सकेनन् । माओवादी केन्द्रले रुपन्देही, अर्घाखाँची र कपिलवस्तुबाट विजयी भएर सिट बढाउन सकेन ।

पूर्वी रुकुमबाट सिट बढाउन नसकेको एमालेले बाँकेमा पनि पराजय भोग्यो ।

कर्णाली प्रदेश : माओवादीको सिट बढ्यो

कर्णालीका १० जिल्लामा माओवादी केन्द्र खालि हात हुनु परेन । यस प्रदेशमा एमालेलाई अन्यत्र भन्दा बढी झट्का लाग्यो । पश्चिम रुकुम, हुम्ला, कालिकोट, मुगु, जुम्लाबाट एमालेका लागि सिट बढेन । यी पाँच जिल्लाका पालिकाका प्रमुख तथा अध्यक्षमा उठेका एमालेका उम्मेदवारहरु पराजित भए ।

एकीकृत समाजवादीले पश्चिम रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, कालिकोट र जुम्लाबाट विजयी संख्या थप्न सकेन ।

सुदूरपश्चिम प्रदेश : ३ दल, तीन जिल्लामा प्रमुख पदमा निल

कांग्रेसले दार्चुलामा अघिल्लोपटक जितेका स्थान बचाउन सकेन । एमालेले डडेलधुरामा पराजय भोग्यो । माओवादीले बाजुराबाट सिट थप्न सकेन । ९ जिल्ला रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका प्रमुख र तथा अध्यक्षका उम्मेदवारले बाजुरा, अछाम, डोटी र कञ्चनपुर पराजय भोगे ।

हालसम्म विजयी अवस्था

हालसम्म सकिएको मतगणना अनुसार नेपाली कांग्रेस ३२४ पालिकामा निर्वाचित भएको छ । मतगणना भइरहेका ५ स्थानमा कांग्रेसको अग्रता छ ।

स्थानीय तहको निर्वाचनमा दोस्रो ठूलो दल बनेको एमालेले २०३ पालिकामा जित निकाल्दै २ स्थानमा अग्रता कायम राखेको छ । नेकपा माओवादी केन्द्रका १२१ पालिकाका उम्मेदवारले प्रमुख पदमा जित निकालेका छन् ।

प्रमुख र अध्यक्षमा गरी जनता समाजवादीले ३० पालिकामा जित निकालेका छन् । नेकपा एकीकृत समाजवादी प्रमुख र अध्यक्ष गरी २० स्थानमा विजयी भएको छ । लोकतान्त्रिक समाजवादीले प्रमुख र अध्यक्ष गरी १६ स्थानमा जित निकालेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com