२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

‘बालेन र हर्क राई’ लोकतन्त्रमा फक्रिएका दुईवटा सुन्दर फूल हुन् : प्रचण्ड

‘बालेन र हर्क राई’ लोकतन्त्रमा फक्रिएका दुईवटा सुन्दर फूल हुन् : प्रचण्ड

जनसेवा न्युज डटकम संवाददाता

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ महानगरपालिका र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर जितेका मेयरहरूलाई लोकतन्त्रमा फक्रिएका सुन्दर फूलको उपमा दिएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मेयरमा निर्वाचित बालेन्द्र साह र हर्क साङपाङ राईलाई धन्यवाद दिँदै राजनीतिक दलसँग सहकार्य गर्दै सफल हुन शुभकामना समेत दिएका छन् ।

प्रचण्डले स्वतन्त्र रूपमा चुनाव जितेर उनीहरुले राजनीतिक दलहरूलाई उम्मेदवार छनौटमा सचेत हुने सन्देश दिएको बताएका छन् । साथै उनले स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई विभिन्न शक्ति केन्द्रहरू, विभिन्न विचार प्रवृत्तिहरूले घेराबन्दी गर्न कोसिस गर्ने भएकोले सचेत रहन पनि सुझाव दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धारणा जस्ताको तस्तै :

अहिले चर्चा भइरहेका स्वतन्त्रबाट जितेका मेयरहरू काठमाडौँ र धरानमा दुईवटा फूल फक्रिएको ठान्छु म । स्वतन्त्र उम्मेदवारहरू विजयी भएको अहिले सबैतिर चर्चा छ । पार्टीका उम्मेदवारहरू विजयी हुन सकेनन् भन्ने पनि आएको छ ।

तर मेरो दृष्टिकोणमा स्वतन्त्रले जितेका सबै ठाउँमा स्वतन्त्र भएकैले नै जितेको देख्दिन । तर बढो विशिष्ट ढङ्गबाट काठमाडौँको मेयरमा र धरानको मेयरमा दुइटा पात्र जो विजय हुनुभयो, साँचो अर्थमा उहाँहरू स्वतन्त्रको रूपमा आउनुभयो । कुनै पार्टीका नेता कार्यकर्ताहरू उहाँहरूको पछाडि लागेर हिँडेको देखिएन । बाँकी अरू स्वतन्त्र भनिए पनि स्वतन्त्र हैनन् पार्टी नै हो ।

जनकपुरको तपाई हामीले हेर्‍यौँ, मेयर जसले जित्नुभयो, नेपाली काँग्रेसकै वरिष्ठ नेताहरूदेखि काँग्रेसकै कार्यकर्ताहरू विजय र्‍यालीमा हिँड्नुभएको छ भने कसरी स्वतन्त्र ? या धनगढीकै कुरा गरौँ पार्टीकै मान्छेहरू लागेका छन् कसरी स्वतन्त्र ? तर काठमाडौँ र धरानका मेयरका उम्मेदवार चाहिँ अलि विशिष्ट ढङ्गले प्रस्तुत हुनुभयो । यसलाई विभिन्न कोणबाट हेरिएको छ, एकथरीको भनाई छ कि यो राजनीतिक दलहरूका निम्ति राम्रै झापड हो भनेर केही बुद्धिजीवीहरूको टिप्पणी आइरहेको छ । राजनीतिक दलहरूलाई चुनौती हो भनेर पनि आइरहेको छ ।

म चाहिँ के ठान्छु भने अहिलेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ र धरानमा जुन विचार र प्रवृत्ति सहित जुन सङ्कल्प सहित दुई जना युवाहरू जनताको बिचमा प्रस्तुत हुनुभयो त्यो विशिष्ट छ र त्यसलाई विशिष्ट मान्नुपर्छ त्यसमा अरू सबै स्वतन्त्र थप्न जरुरी छैन । मेरो बिचारमा संघीय लोकतान्त्रिक गणतन्त्रणको फूलबारीभित्र काठमाडौँ र धरानमा दुईवटा नयाँ फूलहरू फक्रिएको ठान्छु म । फूलबारी संघीय लोकतान्त्रिक गणतन्त्रकै हो । यही संविधानकै फूलबारीभित्र हो ।

राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्ने, उम्मेदवार छनौट गर्दा त्रुटि भएको छ भने त्यसमा ध्यान दिनुपर्ने पक्कै बनाएको छ । तर यो राजनीतिक दललाई नै चुनौती हो भनेर बुझ्नु सही हो भन्ने मलाई लाग्दैन । यसले राजनीतिक दललाई सावधानी गराउने काम पक्कै भएको छ । हामी राजनीतिक दलहरू एक्लै पूर्ण छौँ भन्ने ट्रेन्ड अघि बढेको थियो भने काठमाडौँ र धरानका जनताले प्रश्न खडा गरेकै हो । यो हामीलाई हाम्रा कमीकमजोरी सच्याउनका निम्ति एउटा अवसर पनि हो र एउटा चुनौती पनि हो ।

मैले दुवै मेयरलाई पहिला पनि बधाई भनेको छु, धन्यवाद भनेको छु तपाईंहरू यही संघीय लोकतान्त्रिक गणतन्त्र अन्तरगत, यही संविधान अन्तर्गत जनताका भावनालाई सम्बोधन गर्ने र राजनीतिक दलसँग समदुरीको सम्बन्ध सहित सबैको सहयोग जुटाउन सक्नुहोस् मेरो शुभकामना छ । यसलाई हामी सबैले एउटा आत्मसमीक्षाको अवसरको रूपमा लिन आवश्यक छ । इतिहासका खास खास क्षणमा यस्ता पात्रको जन्म हुन्छ निर्वाचनका बेला उनीहरुले गरेको प्रतिबद्धता अनुसार काम गर्न सक्ने हुन्छ कि हुँदैन, यस्ता पात्रहरूलाई विभिन्न शक्ति केन्द्रहरू, विभिन्न विचार प्रवृत्तिहरूले घेराबन्दी गर्न कोसिस गर्छन् । अब काठमाडौँको मेयर र धरानको मेयर त्यसखालको घेराबाट आफूलाई मुक्त राख्दै साँच्चै जनताको सेवाको निम्ति समर्पित भएर लाग्दा त्यसले राजनीतिक दलहरूलाई पनि रूपान्तरण गर्न, सच्चिन, आत्मसमीक्षा गर्न उत्प्रेबरणा नै दिनेछ । त्यही वातावरण बनोस् भन्ने म चाहन्छु ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com