२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

खेतीपातीको सिजनमै रासायनिक मलको चरम अभाव

खेतीपातीको सिजनमै रासायनिक मलको चरम अभाव

जनसेवा न्युज डटकम संवाददाता

खेतीपातीको सिजन सुरु भएसँगै देशभर रासायनिक मलको चरम अभाव भएको छ । वर्षायाम सुरु भएसँगै किसान खेतबारीतिर लागेका छन्, तर मल अभावले खेती नसप्रने हो कि भन्ने चिन्ता उनीहरुमा छ ।

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ । वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रहँदा युरिया मलको अभाव छ ।

दैनिक वितरणको अवस्था हेर्ने हो भने कम्पनीसँग १० दिनलाई मात्र पुग्ने युरिया बाहेकको मल बाँकी छ । चालु आर्थिक वर्षको मंसिर मसान्तमा ६ सय ३५ टन डीएपी मल आएकोमा पाँच सय ३० टन विक्री भएको छ । युरिया चालु आर्थिक वर्षको मंसिर मसान्तमै ८ सय ९४ टन आएकोमा गत चैत २३ गते नै सकिएको छ । अहिले कम्पनीसँग युरिया मल छैन ।

कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख अमूल्यलाल श्रेष्ठले गत मंसिरमै आएको ७३ टन पोटास मल ६३ टन विक्री भइसकेको बताए । ‘हामीसँग अहिले डीएपी र पोटास मलमात्र मौज्दात छ,’उनले भने, ‘यसलाई समानुपातिक हिसावले वितरण गरिरहेका छौं । भारत सरकारले मल दिने भनिए पनि पछिल्लो समय नदिने भएपछि मल अभाव भएको छ । कम्पनीमा मल आउने नआउने विषय निश्चित पनि छैन ।’

कम्पनीले कर्णाली प्रदेशका सल्यान र रुकुम बाहेकका आठ जिल्लामा दर्ता भएका १०८ सहकारी संस्थामार्फत मल वितरण गर्दै आएको छ । कर्णालीमा युरिया मल बढी खपत भएपनि साविक कर्णाली अञ्चलमा रासायनिक मलको प्रयोग कम हुने गरेको कार्यालयले जनाएको छ ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com