२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

प्रधानसेनापति शर्माद्वारा सहायक सेनानीलाई दर्ज्यानी चिह्न प्रदान

 

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सहायक सेनानी दर्जामा पदोन्नति भएका सिस ४९ पदिक तथा हुद्दा अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा आज आयोजित सिस ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापन कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाली सेनाको छविलाई सदैव उच्च राख्न जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गर्दै उनले सेनाले नेपालमा मात्र नभई विश्व शान्ति स्थापनार्थसमेत काम गर्दै आएको चर्चा गरे । जुनसुकै चुनौती सामना गर्न नेपाली सेना तयार छ भन्दै उनले पुर्खाहरूको देनले नै नेपाली सेना सङ्गठन स्थापित भएको र यो संस्था व्यावसायिक एवं मर्यादित संस्था भएको बताए ।

प्रधानसेनापति शर्माले भने, “मनमस्तिष्कबाट मुलुक र सङ्गठनप्रति समर्पण भाव राखी काम गर्नु, सङ्गठनको छविलाई सधैँ उँचो बनाइराख्नु, संविधानले दिएको जिम्मेवारीसहित सेनाले विपद्, मुलुकको सङ्कटमा काँधमा काँध मिलाएको छ । सेना देश र जनताप्रति सधैँ बफादार छ ।”

विसं २०७८ भदौ १० गते सुरु भएको तालिमको समापनमा तालिम अवधिमा प्रथम हुने पदिक गणेश डल्लाकोटीलाई उनले पुरस्कार प्रदान गरेका थिए । तालिममा ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट, ६२ पदिक तथा हुद्दा अधिकृत क्याडेट पास आउट भएका छन् । तालिम सेनाका नयाँ अधिकृतहरूले प्रदर्शन गरेका कवाज एवं परेडको प्रधानसेनापति शर्माले निरीक्षण गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुपजङ्ग थापाले विसं २०४३ मा प्रतिष्ठानको स्थापना भएको र २०६६ सालदेखि नेपाली सैनिक प्रतिष्ठान भएको बताए । उनले २०६१ सालबाट प्राविधिक तथा महिलाका लागि पनि अधिकृत तालिम दिन सुरु भएको भन्दै अहिले यस प्रतिष्ठानमा सिस ६०, ६१ र ६५ को तालिम भइरहेको पनि बताए । रासस

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com