२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको २६ अस्पतालमा निःशुल्क उपचार !

सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकको २६ अस्पतालमा निःशुल्क उपचार !

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले २६ अस्पतालमा परिचयपत्र (कार्ड) देखाएर निःशुल्क उपचार गर्न पाउने भएका छन् । सोमबार सामाजिक सुरक्षा कोषले स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुभारम्भ गरेका हुन् ।

कोषले अनलाइनको शुभारम्भ गरेसँगै अनलाइन प्रणाली सातै प्रदेशमा रहेका २६ अस्पतामा कोषको परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार गर्न सकिने व्यवस्था गरेको हो । स्वचालित विद्युतीय प्रणाली सेवाको सुभारम्भ गरेसँगै कोषमा आवद्ध श्रमिकले निःशुल्क रुपमा तोकिएका अस्पतालहरुमा उपचार गराउन पाउने छन् ।

स्वचालित विद्युतीय प्रणालीको शुभारम्भ गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुको लागि यो सेवा थप विस्तार गर्दै लगिने बताए ।

उनले श्रमिक वर्ग अहिले पनि सबैबाट पीडित रहेकाले सुरक्षा कोषको यो स्वास्थ्य सेवाले उनीहरुलाई सहज बनाउने दाबी गरे । मन्त्री कुँवरले काठमाडौं उपत्यका मात्रै नभएर देशका दूरदराजमा रहेका श्रमिकलाई समेत यो सेवा पु¥याउने योजना बनाउनुपर्ने बताए । उनले नयाँ प्रविधिको विकास तीब्र गतिमा बढ्दै जाँदा प्रविधिको प्रयोगमार्फत सेवा लिन सबै मानिस आतुर रहेकाले कोषले त्यसतर्फ ध्यान दिएर काम गर्न लागेको बताए ।

मन्त्री कुँवरले कोषलाई व्यवस्थित श्रमिकको हीतमा काम गरेर सामाजिक सुरक्षा कोष श्रमिकहरुको लागि नै हो भन्ने बनाउनु आवश्यक रहेको बताए । उनले सबै श्रमिक वर्गलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदै लगिने बताए ।

उनले भने, ‘श्रमिकहरुले आफ्नो स्वास्थ्य उपचार गर्नको लागि अस्पतालहरुमा लाइन लागेर उपचार गर्न बाध्य छन् । उनीहरुको स्वास्थ्यमा समस्या हुँदा लाइनमा बस्दा झन् समस्या बढ्न सक्छ । तर सामाजिक सुरक्षा कोषले शुरुवात गरेको अनलाइन प्रणालीले त्यस्ता श्रमिकहरुलाई सहज हुनेछ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुले स्वास्थ्य उपचार गरे बापत अस्पताललाई भुक्तानी दिनुपर्ने रकम अस्पातलले अनलाइन माध्यमबाट गर्नेसक्ने भएको छ । डिजिटल प्रविधिको तीब्र विकास भइरहेको छ ।’

उनले फेरि भने, ‘मानिसहरु डिजिटल प्रविधि प्रयोग गर्न आतुर हुनुहुन्छ । हामीले शुरु गरेको प्रणालीबाट योगदानमा आधारित सहभागी श्रमिकहरुले लाभ लिनुहुनेछ । केही स्थानमा मात्रै शुरु भएको अझै दूरजराजमा अफठ्यारो छ । अब यो सेवालाई सामाजिक सुरक्षा कोषले दायरा बढाउने,धेरै श्रमिकहरुलाई सुरक्षा कोषमा आवद्धता बढाउने र दूरदराजमा समेत यो सेवा पु¥याएर त्यहाँका श्रमिकहरुल पनि यो सेवा पाउने बनाउनुपर्छ । यो कुरामा सबै एक भएर लाग्नुपर्ने आवश्यकता छ ।’

उनले थप भने, ‘कोषलाई व्यवस्थित कसरी गर्ने, श्रमिकको हीतमा कसरी काम गर्ने, श्रमिकहरुलाई सामाजिक सुरक्षा कोष हाम्रो र हाम्रो लागि हो भनेर अनुभुति गराएर सबै श्रमिकहरुलाई आवद्ध गराउने काम गर्दै जाने छौं । सामाजिक सेवा कोषको बिस्तार गरी सेवा दिने कार्यालयहरु नेपालभर कसरी पु¥याउने र सबै ठाउँबाट काठमाडौं नै आउनुपर्ने कुराको अन्त्य कसरी गर्ने भन्ने सोच्न जरुरी छ ।’

कोषले परीक्षणकालमा योगदान कर्ताले औषधि उपचार गराएकै दिन सम्बन्धित अस्पताललाई ८० प्रतिशत रकम जम्मा गर्न थालिसकेको बताएको छ । यसअघि स्वचालित विद्युतीय प्रणाली शुरुवात नभएको हुँदा योगदानमा आधारित कोषमा आवद्ध श्रमिकहरुले औषधि–उपचारबापतको रकम भुक्तानी लिन कोषमा नै दाबी गर्नुपर्ने थियो । तर अब अस्पतालमा सुरक्षा कोषको कार्ड देखाएर निःशुल्क उपचार गर्न सक्नेछन् ।

अस्पतालले श्रमिकको सम्पूर्ण जानकारी अनलाइनमार्फत् लिएर कोषलाई जानकारी गराए पस्चात अस्पताललाई अनलाइनमार्फत नै भुक्तानी दिनेछ । अस्पतालसँग विभिन्न चरणमा छलफल गरेर अनलाइन प्रणाली शुरू गरिएकाले कार्यान्वयनमा समस्या नआउने कोषले जनाएको छ । कतिपय अस्पतालले एमओयू र अनलाइन प्रणाली एकैसाथ शुरू गर्नेगरी तयारी पनि भइरहेको छ ।

कोषको परिचयपत्र देखाएर अनलाइन प्रणालीमार्फत सेवा दिने अस्पतालमा वागमतीका ९ अस्पताल र प्रदेश १ का ८, मधेस प्रदेशका ५, लुम्बिनीका ३ र गण्डकीका १ अस्पताल रहेको कोषले बताएको छ । अनलाइन प्रणाली जडान भएका अस्पतालहरुमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रिय सामुदायिक अस्पताल, बीएण्ड सी हस्पीटल, मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर, मोरङका विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोवेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिनमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र वीरगञ्ज दृष्टि आई केयर सेन्टर रहेका छन् ।

यस्तै, चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलान्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौंको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, अर्थोपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत अनलाइन प्रणाली जडान भएकाले योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुले परिचयपत्र देखाएर निःशुल्क रुपमा उपचार गर्नसक्ने भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com