२७ गतेदेखि नबिल र बंगलादेश बैंकको एकीकृत कारोबार

२७ गतेदेखि नबिल र बंगलादेश बैंकको एकीकृत कारोबार
काठमाडौँ । नबिल बैंक र नेपाल बंगलादेश बैंकको सेवा चार दिन अवरुद्ध हुने भएको छ। दुई बैंकबीच मर्जर तथा प्राप्तिपछि असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले ग्राहक तथा बैंकको डाटा माइग्रेसनका लागि सेवा प्रभावित हुने बैंकले जानकारी दिएको हो ।
जसअनुसार दुबै बैंकको सम्पूर्ण तथ्याङ्कलाई एकल बैकिङ्ग सफ्टवेयरमा समायोजन गर्नको लागि २४ गते शुक्रबार कार्यालय समय पछि २७ गते सोमबार विहान कार्यालय समय अगाडिसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा बन्द हुने जनाएको छ । त्यस्तै असार २५ गते शनिबार सार्वजनिक विदाको दिन सञ्चालन हुने सम्पूर्ण काउण्टर तथा अन्य बैंकिङ्ग सेवा समेत बन्द रहने छ । उक्त समयमा नबिल बैकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएको छ ।
त्यसै गरी नेपाल बङ्गलादेश बैंक लि। मा भने बिहीवार कार्यालय समय पछि २७ गते सोमबार बिहान कार्यालय समय अगाडि सम्म उक्त बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द रहने छ । उक्त समयमा नेपाल बङ्गलादेश बैंकका क्रेडिट कार्ड भने सञ्चालनमा रहने छ।
त्यस्तै असार २७ देखि नेपाल बंगलादेश बैंकको केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरूले नबिल बैंक लिमिटेडेको प्रादेशिक शाखा कार्यालयको रुपमा कारोबार सञ्चालन गर्नेछन् । साविक नेपाल बङ्गलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्विकार गर्ने व्यवस्था मिलाइएको नबिल बैंकले जनाएको छ । साविक नेपाल बङ्गलादेश बैंकले जारी गरेका सबै प्रकारका कार्डहरू क्रमिक रुपमा प्रतिस्थापन गर्न ग्राहकहरूलाई सुचित गरी नयाँ कार्डहरू उपलब्ध गराइने नबिल बैंकले जनाएको छ ।
दुवै बैंकको असार जेठ ७ गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेको थियो। त्यस्तै नेपाल राष्ट्र बैंकले असार १५ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । त्यस्तै कम्पनी रजिस्ट्रारको कार्यालयले असार १७ गते एकीकृत कारोबारको लागि स्वीकृति गरेको थियो ।