२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

प्रेस काउन्सिलको ध्यान सामाजिक सञ्जालतिर, सरकारलाई दियो यस्तो सुझाव

प्रेस काउन्सिलको ध्यान सामाजिक सञ्जालतिर, सरकारलाई दियो यस्ता सुझाव

काठमाडौं । प्रेस काउन्सिल नेपालले युट्युव च्यानल दर्ता र सूचीकरण गरी करका दायरामा ल्याउन र युट्युवसहितका सामाजिक सञ्जालको नियमनका लागि बेग्लै स्वतन्त्र निकाय बनाउन सरकारलाई सुझाव दिएको छ । सञ्चारमाध्यम सम्बद्ध बाहेक समग्र सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि काउन्सिलले यस्तो सुझाव दिएको हो ।

काउन्सिलले सामाजिक सञ्जालका सञ्चालक बहुराष्ट्रिय कम्पनीहरूका कार्यालय वा कम्पनीको प्रतिनिधि नेपालमा पनि राख्न वा सम्पर्क स्थापित गर्ने जस्ता विषयमा आवश्यक नीति निर्माण गरी कार्यान्वयनको पहल गर्न समेत सरकारलाई सुझाव दिएको छ । युट्युव, फेसबुकसहितका सञ्जालका सम्पर्क कार्यालय वा कम्पनीका प्रतिनिधि नहुँदा पीडित पक्षको पूरा सुनुवाइ नभएको, आपत्तिजनक सामग्री हटाउनलाई पनि समस्या भएको गुनासा आइरहेका बेला काउन्सिलले यस्तो सुझाव दिएको हो ।

काउन्सिलले युट्युव च्यानल दर्तारसूचीकरण गरी करका दायरामा ल्याउँदा राज्यको कर अभिवृद्धि हुने भएकाले त्यस्ता माध्यम सञ्चालक कम्पनी हरेक वर्ष अद्यावधिक गर्न र आयव्यय विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था गर्न पनि सुझाव दिएको छ । पत्रकारिता गर्ने उद्देश्य बाहेकका समग्र सामाजिक सञ्जालको हकमा कानुनमा स्पष्ट व्यवस्था गरी एकीकृत अनुगमन र कारबाहीको व्यवस्था गर्ने, यसका लागि नेपाल प्रहरी, नेपाल दूरसञ्चार प्राधिकरण, सम्बद्ध नियमनकारी निकायको प्रतिनिधित्व रहने गरी स्वतन्त्र नियमन र अनुगमन संयन्त्र बनाउनुपर्दछ, बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको लिखित सुझावमा भनिएको छ ।

नियमित अनुगमनका लागि प्रारम्भमा १ जना अनुगमन अधिकृत र ४ जना अनुगमनकर्तासहित ५ जना सम्मिलित शाखा संरचना खडा गर्नुपर्ने प्रस्तावसहित सुझावमा लेखिएको छ– ‘अनुगमनका लागि सामाजिक सञ्जाल नियमन सफ्ट्वयर तथा सिष्टमलगायत आवश्यक जनशक्ति, साधन श्रोतको व्यवस्था सरकारले गर्नुपर्दछ ।’

त्यस्तो संयन्त्र निर्माण नहुन्जेल प्रेस काउन्सिलकै नेतृत्वमा थप जनशक्ति, प्रतिनिधि र स्रोध साधनको व्यवस्था गरी नियमन र अनुगमनलाई प्रभावकारी बनाउन सकिने सुझाव छ ।

यसैगरी सुझावमा मिडिया सम्बन्धित तथा पत्रकारिता गर्ने उद्देश्यले सञ्चालित सामाजिक सञ्जालको अनुगमन प्रेस काउन्सिल नेपालले नै गर्ने उल्लेख छ । यसलाई अझै प्रभावकारी बनाउन कानुन परिमार्जन गर्नुपर्ने र तत्काललाई निर्देशिका बनाउनुपर्ने सुझाव पनि छ ।

सर्वसाधारण व्यक्तिहरूले सामाजिक सञ्जालका माध्यमबाट ठुलो समुदायलाई प्रभाव पार्ने गरी बनाइएका पेज, ग्रुपलगायत अन्य माध्यमलाई पनि व्याख्यासहित कानुनी दायरामा ल्याउनु जरुरी भएको औंल्याइएको छ ।

काउन्सिलले सरकारले ओटीटी (नेटफिलिक्स) एमेजेन प्राइमजस्ता प्लेटफर्म र भिओडी (शृङ्खलाबद्ध रूपमा कार्यक्रम उत्पादन गर्ने, फिल्म निर्माण गर्ने युट्युव च्यानलहरू) को सन्दर्भमा ल्याएको व्यवस्थासमेत स्पष्ट पारी कार्यान्वयनमा ल्याउनु आवश्यक भएको औंल्याइएको छ ।

पत्रकारितासम्बन्धी नीतिलाई समय समयमा अवलोकन गरी यस क्षेत्रको विकासका लागि राय दिनुपर्ने कानुनी दायित्वअन्तर्गत काउन्सिलले उक्त सुझाव सरकारलाई दिएको हो ।

हामीले यो बीचमा विज्ञहरूसँग छलफल गर्यौं । अध्ययन अनुसन्धान गरी युट्युवसहितका सञ्जालमा अहिले देखिएका समस्या हल गर्नका लागि सुझाव दिएका हौं । यसको कार्यान्वयनका लागि काउन्सिलले सदैव सहजीकरण गर्नेछ, काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले भने ।

काउन्सिलको पछिल्लो बोर्ड बैठकले सामाजिक सञ्जालका सन्दर्भमा सरकारलाई लिखित सुझाव दिने निर्णय समेत गरेको थियो । सुझावमा सामाजिक सञ्जालमा के कस्ता विषय राख्न पाउने, के के पोष्ट गर्न पाउने ? के के सामग्री राख्दा उल्लङ्घन हुने भन्नेबारे जनमानसमा यथेष्ट सूचना प्रवाह गर्ने नीतिगत व्यवस्था हुनुपर्ने र यसका लागि प्रयोगकर्तामाझ ‘डिजिटल लिटरेसी’ बढाउन आवश्यक भएको औंल्याइएको छ ।

‘सामाजिक सञ्जालको प्रयोगबाट परेको सकारात्मक प्रभावलाई व्यवस्थापन र नकारात्मक प्रभावलाई निरुत्साहित गर्नुपर्दछ । सामाजिक सञ्जाल प्रयोगबाट भइरहेको सबैभन्दा ठूलो नकारात्मक प्रभाव भनेको ‘फेक न्युज’ हो । यस्तो प्रयासको न्यूनीकरणका लागि सबैभन्दा पहिलो प्रयास जनचेतना हो । यस विषयमा माथि उल्लिखित सरोकारवाला निकायबाट ‘हेल्प डेस्क’ खडा गरी समय समयमा जनचेतना अभियान थालनी गर्नुपर्छ, काउन्सिलको सुझावमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com