२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो

रुपन्देही । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत वर्षमा भन्दा यो वर्ष भारतीय पर्यटक लुम्बिनीमा उल्लेख्य सङ्ख्यामा आइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि भारतीय पर्यटक आउने क्रम बढ्दो रहेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । ‘अफ सिजन’ मानिने यो समय मोदी भ्रमणसँगै भारतीय पर्यटक बढेको कोषले जनाएको छ ।

भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनामा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बिनी आएको कोषको सूचना शाखाले जनाएको छ । यो विगत वर्षभन्दा राम्रो सङ्ख्या हो । लुम्बिनी विकास कोषमा आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएका छ । पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

कोभिड–१९ को त्रासका कारण पर्यटक आगमन कमी आएको लुम्बिनीमा भारतीय प्रधानमन्त्री आगमनसँगै भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटकमा उत्साहजनक आगमन भएको लुम्बिनी होटल एशोसिएसनले जनाएको छ ।

मोदी भ्रमणको व्यापक प्रचार, प्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एशोसियसनका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् । अध्यक्ष ज्ञवालीका अनुसार लुम्बिनी आउने पर्यटकका लागि सरकारले पनि विशेष सुविधा र सहयोग गर्नुपर्दछ । लुम्बिनीमा आध्यात्मिकका साथै घुमन्ते पर्यटक आउने गर्दछन् । धार्मिक र आध्यात्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यतासँग रमाउन आउने गरेको देखिन्छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमा क्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यवसायीलाई उत्साह दिएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । करिब तीन वर्ष कोभिडका कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकको आगमनले रमाइलो बनाएको छ । पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्र पनि चलायमान देखिन्छन् । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com