२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

काँग्रेसकी पुष्पा भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

काँग्रेसकी पुष्पा भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

जनसेवा न्युज डटकम संवाददाता

प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुने छ ।

शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सो अनुसार अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् । सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । काँग्रेसका एक पदाधिकारीका अनुसार काँग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन् ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।

प्रतिनिधिसभामा एमालेको ९८, काँग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

पाँच दलीय गठबन्धनसँग काँग्रेस ६१, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ । लोसपा पनि सत्ता गठबन्धनसँगै नजिक छ । लोसपाले एमालेलाई साथ दिएपनि गठबन्धनकै पल्लाभारी देखिन्छ । यता एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइ नसकेको बुझिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com