२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश

मुख्यमन्त्री अस्वस्थ भएपछि रोकियो अध्यादेश

जनसेवा न्युज डटकम संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्यमा समस्या देखिएपछि अध्यादेश जारी गर्न बस्ने तयारी भएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेको थियो । मुख्यमन्त्री पाण्डेले उक्त तयारी अनुसार फेल भएका ४ अध्यादेशलाई मन्त्रिपरिषदबाट स्वीकृती प्रदान गर्न आइतबार बैठक आह्वान गरेका थिए ।

आइतबार बिहान बस्ने तय भएको बैठक केही समय अघि सूचना प्रवाह गर्दै मुख्यमन्त्री पाण्डेले एक साताका लागि मन्त्रिपरिषद नबस्ने गरि स्थगन गरेका थिए । मुख्यमन्त्री पाण्डेलाई रुघा खोकी र ज्वरोको संक्रमण देखिएपछि उनलाई चिकित्सकले एक साता आराम गर्न सुझाव दिएका छन् । चिकित्सकको सुझाव अनुसार मुख्यमन्त्री पाण्डे एक साताको लागि काठमाडौंस्थित घरमा बेड रेष्टमा बसेका छन् ।

अस्वस्थ भएपछि उनले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराएका थिए । उनको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अध्यादेश ल्याउनुको विकल्प छैनः मन्त्री खनाल

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकारले पुनः अध्यादेश ल्याउने तयारी गरेको बताए । उनले यस अघि नै सरकार जारी गरेको अध्यादेश पूर्ण रुपमा कार्यान्वयनमा गएकाले नियमित कामकाज संचालनका लागि पनि अध्यादेश ल्याउनुको अर्को विकल्प नरहेको बताए ।

‘यस अध्यादेश जारी भएको अध्यादेश पूर्णरुपमा कार्यान्वयनमा गएका कारणले सरकारको कामकाज संचालनको लागि पनि पुनः अध्यादेश जारी गर्नुको विकल्प छैन ,’ उनले भने । सरकारका तर्फबाट अध्यादेशको सम्पूर्ण तयारी पूरा गरेर मन्त्रीपरिषदबाट पास गर्न मात्र बाँकी रहेको उनको भनाइ छ । सरकारले यस अघि जारी गरेर सदनबाट पास हुन नसकेका अध्यादेश पुनः ल्याउने तयारी गरेको उनले बताए ।

उनले भने–‘हामी अध्यादेश जारी गर्ने तयारीमा छौ । हिजोको मन्त्रिपरिषदले हामीले तयार गरेको अध्यादेशलाई स्वीकृती प्रदान गर्ने थियो । मुख्यमन्त्रीको स्वास्थ्यमा समस्या भएपछि बैठक स्थगित भयो । मुख्यमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि हामी बैठक बसेर त्यसलाई स्वीकृति दिन्छौ र अध्यादेश जारी गर्छौं ।’
उनका अनुसार संसद चल्न सकेको खण्डमा पुनः जारी भएका अध्यादेशहरू अहिले कै सरकारले पास गर्ने र सदन चल्न नसकेको खण्डमा निर्वाचन पश्चात् आउने सरकारले गर्नेछ । बागमती प्रदेश सरकारले यस अघि जारी गरेको संघीयता कार्यान्वयनको क्रममा महत्वपूर्ण मानिएको प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सदनमा पेश भए पनि पास हुन सकेको थिएन ।

त्यस्तै अदालतमा मुद्दा विचाराधीन रहेका कारण मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सदनमा पेश हुन सकेको थिएन ।

कानुनतः अध्यादेश ६० दिनभित्रमा प्रतिस्थापन विधेयक ल्याएर पास गर्नुपर्ने हुन्छ । सरकारले जारी गरेको अध्यादेशहरूलाई प्रतिस्थापन गर्न विधेयक ल्याएपनि त्यसका थुप्रै त्रुटि र संशोधनको प्रस्ताव परेपछि ति अध्यादेश पूर्णरुपमा निष्क्रिय भएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com