माओवादी केन्द्रका कार्यवाहक अध्यक्षमा नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका कार्यवाहक अध्यक्षमा नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का कार्यबाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा गएपछि नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
पाँचदिने जापान भ्रमणका लागि सचिवालय टिमसहित शुक्रबार राति नेपाल एयरलाइन्सको विमानबाट जापान प्रस्थान गरेका प्रचण्ड जापान पुगिसकेका छन् । उनलाई जापानस्थित नेपाली दूतावासका राजदूत दुर्गाबहादुर सुवेदीले टोकियोको नारिता विमानस्थलमा स्वागत गरेका हुन् ।
शनिबार बिहान जापान पुगेका अध्यक्ष प्रचण्डले जापानको फुकुओकामा आयोजना हुने फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै आइतबार नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा हुने ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको अन्तरक्रिया कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि रहनेछन् भने सोहि दिन नै प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ ।
प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।