२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बेलायतमा नेपाली नर्स लैजाने सम्झौता, जीटुजी मार्फत कामदार लगिने

बेलायतमा नेपाली नर्स लैजाने सम्झौता, जीटुजी मार्फत कामदार लगिने

जनसेवा न्युज डटकम संवाददाता

नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका हुन् ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स) लाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको पनि उपस्थिति थियो ।
समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

यसका अतिरिक्त बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापन र सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलका क्रममा रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

सम्झौता पत्रमा ८ वटा विषय उल्लेख गरिएका छन्–
१. स्वास्थ्यकर्मीको छनौट र पदस्थापन नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी (गभर्मेन्ट टु गभर्मेन्ट) प्रक्रिया बमोजिम हुने ।

२. नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवा (एन. एच. एस.) मा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने ।

३. विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एण्ड सेफगार्ड लिष्ट २००० मा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुबै सरकारले संयुक्त निर्णय गर्ने ।

४. नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहदै आएकोमा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने ।

५. परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेसन प्रोटोकल स्पष्ट व्यवस्था गरिने ।

६. नियुक्ती प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनौट भएका स्वास्थ्यकर्मीको लागतको शोधभर्ना हुने ।

७. परीक्षण चरणको अन्तमा समग्र स्वास्थ्यकर्मी नियुक्ती प्रक्रियाको मूल्याङ्कन गरिने र थप नियुक्ती तथा विस्तारका सम्बन्धमा आवश्यक निर्णय लिइने ।

८. समझदारी पत्र,  नियुक्ती प्रक्रिया र अन्य जानकारी मन्त्रालयको वेवसाइट https://moless.gov.np/​  मा  उपलव्ध हुने तथा थप जानकारीका लागि uknursing@moless.gov.np  मा इमेल गर्न सकिने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com