२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सिन्धुली–१ को भिडन्त : अस्तित्वको लडाइँ भर्सेस विरासत जोगाउने चुनौती

विगत २५ वर्षदेखि सिन्धुलीको निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेले आफ्नो विरासत कायम गर्दै आएको छ । उक्त क्षेत्रमा २०४८ पछिका निर्वाचनमा एमाले एक पटकमात्र हारेको छ । सिन्धुली–१ लाई एमालेले आफ्नो लालकिल्लाको रुपमा परिभाषित गर्दै आएको छ । सो क्षेत्रमा एमाले २०५१ को मध्यावधि चुनावमा मात्र पराजित भएको छ । २०५१ को निर्वाचनमा सो क्षेत्रबाट कांग्रेसका विपीन कोइरालाले जित हात परेका थिए । कोइरालाले जित हात पार्दा एमालेका शान्तिमान कार्की पराजित भएका थिए ।

माओवादीले देशभर दबदबा बनाएको बखत २०६४ को संविधानसभा निर्वाचनमा सिन्धुली–१ मा एमालेका विषमलाल अधिकारी दनुवारले चुनाव जितेका थिए । सो क्षेत्रमा २०४८ को निर्वाचनमा एमालेका मदन ढुंगेल, २०५६ मा गंगाप्रसाद नेपाल, २०६४ मा विषमलाल अधिकारी, २०७० मा गणेशकुमार पहाडी र २०४७ मा पनि पुनः पहाडीले नै चुनाव जितेका थिए ।

२०६४ पछि लगातार जितेको एमाले आगामी निर्वाचनमा सो क्षेत्रबाट पुनः जित्ने प्रयत्नका साथ चुनावी मैदानमा छ । सो क्षेत्रमा एमालेले निवर्तमान बागमती प्रदेशसभा सदस्य प्रदिपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ । एमालेले आफ्नो बलियो पकड रहेको क्षेत्रको रुपमा लिएको सिन्धुली–१ मा सत्ता गठबन्धनका उम्मेदवारसँग भिड्न कटुवाललाई उम्मेदवार बनाएको हो ।

सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका श्यामकुमार घिमिरे उम्मेदवार छन् । घिमिरे र कटुवाल बीच यस अघि २०७४ को निर्वाचनमा बागमती प्रदेशसभा तर्फको सिन्धुली–१ (ख)मा चुनावी प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा कटुवालले घिमिरेलाई पराजित गरेका थिए । कटुवालले १६ हजार ६१२ मत सहित चुनाव जित्दा घिमिरेले ११ हजार ९५५ मत पाएका थिए ।

सिन्धुली–१ मा अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य पदका प्रतिस्पर्धीबीच यस पटक प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धा हुने भएपछि माहोल थप रोचक बनेको छ । पुराना प्रतिस्पर्धी आगामी निर्वाचनामा आमनेसामने हुने भएपछि सो क्षेत्रको चुनावमा रोचकता थपिएको हो ।

२५ वर्षे विरासत जोगाउनु पर्ने दवाबमा एमालेका कटुवाल

गत निर्वाचनमा वाम गठबन्धनमा रहेर चुनाव लडेका कटुवाललाई यस पटक भने सत्तारुढ गठबन्धनसँग प्रतिस्पर्धा गरेर एमालेको २५ वर्षे विरासत जोगाउनु पर्ने दबाब छ ।

आगामी निर्वाचनमा पनि घिमिरेलाई हराउने दरिलो साहस बोकेर कटुवाल चुनावी अभियानमा छन् । २०४८ सालदेखि एमालेले जित्दै आएको सो क्षेत्रमा यस पटक पनि आफू जित्ने दाबी गर्दै कटुवाल चुनावी अभियानमा सक्रिय रहेका छन् ।

गत भदौमा एमाले विभाजनपछि अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारमा करिव २ महिना स्वास्थ्य मन्त्रीसमेत बनेका कटुवाल गत निर्वाचनमा पनि घिमिरेलाई पराजित गरेका कारण थप हौसिएका छन् । उनी आगामी निर्वाचनमा पनि घिमिरेलाई हराउन समस्या नरहेको बताउँछन् । जनताको माझमा रहेर उनीहरुको समस्या समाधानमा लागिरहेकाले पनि आगामी निर्वाचनमा आफूले जित्ने निश्चित रहेको उनी बताउँछन् ।

कटुवाल सिन्धुलीको समग्र स्वास्थ्य, शिक्षा, सडक र अन्य भौतिक पूर्वाधारका क्षेत्रमा एमाले सरकारमा रहँदा थुप्रै काम गरेको र त्यसमा आफ्नो पनि योगदान रहेकाले जनताले मन पराएर मत दिने विश्वास व्यक्त गदर्छन् ।

यद्यपि, परिस्थिति उनका लागि त्यति अनुकुल देखिँदैन । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट जित हात पारेका कटुवाल यस पटक एक्लो छन् । त्यसमाथि पनि एमाले विभाजन भएकाले उनलाई जित हासिल गर्न त्यति सहज छैन ।

अस्तित्वको लडाइँमा कांग्रेसका घिमिरे

यता गठबन्धनका तर्फबाट कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरे एमालेको २५ वर्षे विरासत भत्काउन सक्रिय छन् । उनका लागि यो अस्तित्वको लडाइँ समेत हो ।

पहिलो पटक संघीय संसद्मा चुनाव लड्दै गरेका घिमिरे अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य पदमा पराजित भएका थिए । एमालेको गढ मानिएको क्षेत्रमा चुनाव जितेर पार्टीको अस्तित्व जोगाउनुपर्ने चुनौती उनमा छ ।

घिमिरेलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको पनि साथ छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण घिमिरेलाई निकै नै गाह्रो थियो । यस पटक भने उनी एमालेको विभाजन र सत्तारुढ दलहरुबीचको गठबन्धनको फाइदा उठाउने रणनीतिमा छन् ।

एमालेले सत्तामा रहदाँसमेत सिन्धुलीको सो क्षेत्रको विकासमा खासै काम गर्न नसकेका कारण जनता रुष्ट रहेको भन्दै उनले आसन्न निर्वाचनमा आफूलाई जनताले रुचाउने विश्वास व्यक्त गरे ।

यस्तो छ स्थानीय तहको अंक गणित

सिन्धुली–१ अन्तर्गत एक नगरपालिका तथा ३ वटा गाउँपालिकाको पूर्ण भूभाग र कमलामाई नगरपालिकाको ३ वटा वडा पर्दछन् । सिन्धुलीको दुधौली नगरपालिका, तीनपाटन, फिक्कल, गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकाको ९, १३ र १४ नम्बर वडा यस क्षेत्रमा पर्दछ ।

यस क्षत्रेमा रहेका ४ वटा स्थानीय तह मध्ये २ वटामा एमालेले नेतृत्व लिएको छ भने २ वटामा गठबन्धन दलहरुले लिएका छन् । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट सिन्धुलीको दुधौली नगरपालिकाको नेतृत्वमा माओवादी केन्द्र छ उपप्रमुख कांग्रेसले जितेको छ । यस्तै, तीनपाटन गाउँपालिकाको नेतृत्वमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।

फिक्कलको अध्यक्ष र उपाध्यक्षसहित गोलन्जोर गाउँपालिकाको अध्यक्षमा भने एमालेले नेतृत्व लिएको छ । गोलन्जोरको उपाध्यक्ष भने माओवादी केन्द्रको पोल्टामा छ ।

सो क्षेत्रबाट प्रदेशसभा तर्फ सिन्धुली–१ (क)मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका मातृका भट्टराई उम्मेदवार छन् भने सिन्धुली–१ (ख) मा कांग्रेसका रामकुमार पहाडी उम्मेदवार छन् ।

प्रदेशसभातर्फ सो क्षेत्रमा एमालेबाट सिन्धुली–१ (क)मा प्रदेशका पूर्व सञ्चारकर्मी समेत रहेका सुवास देवकोटा छन् भने सिन्धुली–१ (ख) मा एमाले जिल्ला अध्यक्ष कुमारबहादुर कार्की उम्मेदवार छन् ।

उक्त निर्वाचनमा सो क्षेत्रका पालिकाहरुमा वडाध्यक्षहरुले पाएको मत हेर्ने हो भने कांग्रेस र एमालेबीच खासै अन्तर छैन । सो क्षेत्रका ४१ वटा वडाका वडा अध्यक्ष पदमा एमालेले २८ हजार ६२० मत प्राप्त गरेको छ भने  कांग्रेसले २८ हजार १७ मत प्राप्त गरेको छ । त्यस्तै सो क्षेत्रका वडाहरुमा माओवादी केन्द्रले १३ हजार ३६९ मत प्राप्त गरेको छ । वडा अध्यक्षको मतका आधारमा भन्ने हो भने आगामी निर्वाचनमा माओवादी केन्द्रको मत नै निर्णायक हुने देखिन्छ ।

७७ मतदानस्थल र १२७ मतदान केन्द्र रहेको सिन्धुली–१ मा १ लाख ७ हजार १३६ मतदाता छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com