२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै किसान

आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै किसान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम बनेको छ ।

अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन् ।

जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलुखेतीले हरियाली भएका छन् । आलु लगाएर यस क्षेत्रका किसानले वार्षिक रु एक करोडभन्दा बढी आम्दानी गरिरहेको स्थानीय रवीन्द्र खड्का बताउनुहुन्छ ।

कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद र वर्षात् दुवै याममा पानी लाग्ने नौबिसेफाँटमा धानखेती गर्दा मुस्किलले चार–पाँच बोरा उत्पादन हुने गर्दथ्यो । त्यही खेतमा आलु लगाउँदा रु ९० हजारसम्मको आम्दानी गर्दै आएको बताउनुहुन्छ ।

आलुखेतीबाट पर्याप्त आम्दानी भएपछि बतासे रानीटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आइरहेको र यसपाला करिब रु १५ हजार खर्च गरेर आलुखेती गरेको बताउनुभयो ।

यसबाट कम्तीमा रु ६०–७० हजार आम्दानी हुने उहाँको आश छ । ब्रम्हायणी नदी आसपासका फाँटमा सिँचाइ सुविधा प्रशस्त भएकाले पनि किसानलाई आलुखेती लगाउन निकै सुविधा भएको फुल्पिङकोटका प्रेमबहादुर भण्डारीको भनाइ छ ।

उता इन्द्रावती नदी दायाँ–बायाँका खेत पनि आलुखेतीले हरियाली भएका छन् । आलुखेतीबाट मनग्य आम्दानी भएपछि किसान आलुखेती लगाउन हौसिएका छन् ।

विगतमा गहुँखेती लगाएर जीविकोपार्जन गर्दै आएका किसान आलुखेतीमा समर्पित भएपछि यस क्षेत्रका बासिन्दाको आम्दानीमा सुधार भएको इन्द्रावती गाउँपालिका–१२ भीमटारका वडाध्यक्ष सुरेन्द्र दनुवार बताउनुहुन्छ ।

आलुखेती लगाएरै इन्द्रावती नदी आसपासका बासिन्दाले वार्षिक करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएको दनुवारले बताउनुभयो ।

आलु र तरकारी खेतीमा किसान लागेकाले यसलाई व्यवस्थित पार्न सिपाघाटमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको सिपापोखरेका सीताराम श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लाको उच्च पहाडी भू–भागमा उत्पादन हुने आलु पूर्णरूपमा अग्र्यानिक हुने भएकाले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुडे आलु विकास केन्द्रले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com