२०७९ माघ २१ - Sat Feb, 2023 -

Janasewa News

सङ्क्रमण कम भएपछि तीन महिनादेखि ल्याइएन कोरोना खोप

जनसेवा न्युज डटकम संवाददाता

कोरोना भाइरसको सङ्क्रमण घटदै गएपछि भाइरस विरुद्धको खोप ल्याउन छाडिएको छ । तीन महिनादेखि यता नेपालमा कोरोना भाइरस विरुद्धको खोप ल्याइएको छैन ।

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो ।

अहिले सङ्क्रमण दर एक प्रतिशतभन्दा पनि कम रहेको छ । मङ्सिर २९ गते सात सय ३० जनाको परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको थियो । त्यो सङ्क्रमण दर भनेको ०.५५ प्रतिशत हो । खोप सात हजार नौ सय नौ जनाले लगाएका छन् ।

उनका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याएको छैन । “अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौँ”, उनले भने, “तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौं ।”

सरकारले सम्झौता गरेर पनि खोप ल्याएको छैन । उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए । कोभ्याक्समार्फत ल्याउनका लागि सम्झौता भएको ९२ लाख मात्रामध्ये ५५ लाख मात्रा खोप ल्याइएको छैन । “नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले हामीले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ”, उनले भने, “आवश्यकता भयो भने त्यो सम्झौता गरिएको खोप भने ल्याउँछौँ ।”

सम्झौता गरिएको खोपमध्ये दुई पटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ ।

बुस्टर डोजका लागि ल्याइने 
सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने तयारी भएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.चौरसियाले जानकारी दिए ।

नेपालमा सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि पहिलो पटक भारतबाट विसं २०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो । त्यसपछि पटकपटक गरी नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ ।

अहिले पाँच वर्षदेखि माथिका सबैलाई सरकारले निःशुल्क खोप प्रदान गर्दै आइरहेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोडर्ना, एस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सन, फाइजरलगायतका कोरोना भाइरस विरुद्धका खोप लगाइएको छ । नेपालले आफैँ खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरस विरुद्धको खोप ल्याएको छ ।

अहिले ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात रहेको छ । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात रहेको छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात रहेको छ । यस्तै फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर (बालबालिका) लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात रहेको छ । सबैभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको जनाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com