२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

विद्यादेवी भण्डारी दोहोरिन मिल्दैन, सुवास नेम्वाङ बन्लान् एमालेबाट राष्ट्रपति?

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको नयाँ समिकरण बनेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुने निश्चित भएपछि राष्ट्रपति को बन्लान् भन्ने चासो बढेको छ।

प्रधानमन्त्री पद माओवादीलाई दिएपछि एमालेले राष्ट्रपति लिने पक्का जस्तै छ। एमालेकी पूर्वउपाध्यक्ष रहेकी विद्यादेवी भण्डारी अहिले राष्ट्रपति छन्। यो उनको दोस्रो कार्यकाल हो।

भण्डारीको राष्ट्रपतिमा निरन्तरताको सम्भावना भने छैन।  संविधानको धारा ६४ ले दुई कार्यकाल राष्ट्रपति भएको व्यक्ति फेरि राष्‍ट्रपति हुन नसक्ने व्यवस्था गरेको छ।

भण्डारी दोहोरिने सम्भवना नभएकाले एमालेमा राष्ट्रपतिका उम्मेदवारको रूपमा उपाध्यक्ष सुवास नेम्वाङको नाममा चर्चामा छ।

नेम्वाङ आदिवासी जनजाति समुदायको पनि प्रतिनिधित्व गर्छन्। संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिंग र समुदायको व्यक्ति हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।

विगतमा मधेशी समुदायबाट रामवरण यादव राष्ट्रपति भएका थिए भने महिलाबाट विद्यादेवी भण्डारी राष्ट्रपति भैसकेकी छिन्। तर अहिलेसम्म जनजाति समुदायबाट राष्ट्रपति भएका छैनन्। सुवास नेम्वाङ त्यसैले पनि राष्ट्रपतिका बलियो दाबेदार हुन सक्छन्।

राष्ट्रपतिका लागि नेम्वाङको राजनीतिक प्रोफाइल पनि बलियो छ। २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बनेका थिए। उनी २०५१ सालमा न्याय कानुन तथा संसदीय राज्यमन्त्री बनेका थिए भने पछि कानुन मन्त्री बनेका थिए।

उनले सामान्य प्रशासन देखि स्थानीय विकाससम्मका मन्त्रालय सम्हालेका थिए। २०५६ सालमा प्रतिनिधि सभामा इलामबाट निर्वाचित हुनु अघिसम्म पनि उनी राष्ट्रिय सभामा सदस्य थिए। निर्वाचन जितेका नेम्वाङले प्रतिनिधि सभाको लेखा समितिको सभापतिको रुपमा २०५६ सालमा काम गरेका थिए।

२०६३ सालमा नेम्वाङ पुन:स्थापित प्रतिनिधि सभाका सभामुख बनेका थिए। त्यसपछि उनी २०६४ मा इलामबाट निर्वाचित भएका थिए। लगत्तै उनी संविधानसभाको अध्यक्षमा निर्वाचित भएका थिए। २०७० सालको निर्वाचनमा समेत विजयी भएपछि नेम्वाङ दोश्रो पटक पनि संविधानसभाका अध्यक्ष बनेका थिए।

राजनीतिमा लाग्नु अघि कानुन व्यवसायमा संलग्न रहेका नेम्वाङ वरिष्ठ अधिवक्ता समेत हुन्।

दुवै संविधानसभाका अध्यक्ष, सभामुख र कानुनमन्त्री समेत भइसकेका नेम्वाङ यसपटक राष्ट्रपति बन्ने दौडमा छन्।

तर एमालेका एक नेताले भने राष्ट्रपतिबारे अहिले छलफल नभएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि अहिलेसम्म राष्ट्रपति को बन्छ भन्नेबारे मुख खोलेका छैनन्।

‘राष्ट्रपतिबारे हामी छलफल नै गरेका छैनौं। त्यसैले को हुन्छ भन्ने कुरा पनि सुरू भएको छैन,’ उनले भने।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com