२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

बागमती प्रदेश : मन्त्री नपाएपछि सभामुखको निर्वाचनमा एकीकृत समाजवादी तटस्थ

बागमती प्रदेश : मन्त्री नपाएपछि सभामुखको निर्वाचनमा एकीकृत समाजवादी तटस्थ

मकवानपुर । नेकपा एकीकृत समाजवादीको गत पुस २४ गते बागमती प्रदेश सरकारमा एकाएक ‘इन्ट्री’ भयो । केन्द्रीय तहमा सरकारमा सहभागी हुने वा नहुने द्विविधासहित बहसमा रहेको एकीकृत समाजवादीले बागमती प्रदेशमा भने सत्ता साझेदार दलको रूपमा सरकारलाई समर्थन दिएको थियो ।

केन्द्रमा एकीकृत समाजवादीले सरकारप्रति आफ्नो धारणा बनाउन र गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा निर्णय गर्न आन्तरिक छलफल गर्दै गर्दा बागमती प्रदेशमा भने सो दलले सत्तासँग निकटता बनाइसकेको थियो ।

त्यसको ४ दिनपछि भएको प्रदेशसभा सभामुखको निर्वाचनमा भने एकीकृत समाजवादीले तटस्थ भूमिका देखाएको छ । शुक्रबार भएको सभामुख पदको निर्वाचनमा एकीकृत समाजवादीले सत्ता गठबन्धनका उम्मेदवारलाई मत नदिई तटस्थ बसेको थियो । प्रदेशसभा सभामुखमा पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक उम्मेदवार बनेका थिए । उनको पक्षमा ६२ जना सांसदले हस्ताक्षर गरेका थिए भने विपक्षमा ३९ र ७ जना सांसद तटस्थ भूमिकामा रहे । बहुमत सांसदको हस्ताक्षर पाएका पाठक प्रदेशसभाको सभामुख निर्वाचित भए । उनले प्रदेश प्रमुखमार्फत पद तथा गोपनीयताको शपथ लिएर पदभार समेत ग्रहण गरिसकेका छन् भने उनको अध्यक्षतामा प्रदेशसभाको बैठक पनि सञ्चालन भइसकेको छ ।

त्यसैगरी सभामुख पदका अन्य २ उम्मेदवारको विषयमा पनि एकीकृत समाजवादी तटस्थ नै रह्यो । सभामुख पदमा उम्मेदवार रहेका कांग्रेसका शिवराज अधिकारीको पक्षमा ३६ जना सांसदले हस्ताक्षर गरेका थिए भने विपक्षमा ६५ र तटस्थमा ७ जना सांसद रहे ।

त्यस्तै सभामुख पदमा उम्मेदवार रहेकी नेमकिपाकी सृजना सायजुको पक्षमा ३ जना सांसदले हस्ताक्षर गरेका थिए भने उनको विपक्षमा ९८ र तटस्थमा ७ जना सांसद रहे ।

प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा पुस २५ गते नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख समक्ष दाबी पेस गर्दा एकीकृत समाजवादीका बागमती प्रदेशसभा सदस्यहरूले पनि उनको पक्षमा समर्थनसहित हस्ताक्षर गरेका थिए ।

जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिने निर्णयकर्ता थिए प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे । पुस २५ गते संघीय संसदमा सहभागी हुन काठमाडौं जानु अघि २४ गते आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेका उपलब्धि सार्वजनिक गर्न उनी हेटौंडा झरेका थिए ।

सोही क्रममा उनले आफ्नो नेतृत्वमा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री रहेका जम्कट्टेललाई भावी मुख्यमन्त्रीको रूपमा बधाई समेत दिएका थिए । सोही दिन राति अबेर सत्ता साझेदार दलका शीर्ष नेताहरुले बागमती प्रदेश सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने र पहिलो चरणमा माओवादी केन्द्रले सरकारको नेतृत्व लिने सहमति गरेका थिए । सोही अनुसार जम्कट्टेलले सरकारमा दाबी गरेका थिए ।एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेको पत्रकार सम्मेलन पश्चात नै बनेको थियो जम्कट्टेल नेतृत्वको सरकारलाई समर्थन दिने योजना । उनै पाण्डेको योजना अनुसार पुस २५ गते एकीकृत समाजवादीका ७ जना सांसदले सरकारलाई समर्थन दिएका थिए भने सरकारमा सहभागी हुने समेत जनाएका थिए ।

माओवादी केन्द्रका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० सांसदको समर्थनमा जम्कट्टेलले सरकारमा आफ्नो दाबी गरेका थिए । सरकारमा समर्थन दिएदेखि नै एकीकृत समाजवादीले मन्त्रालयको भागबण्डामा दाबी गरिरहेको थियो । प्रदेशको २ वटा मन्त्रालयमा एकीकृत समाजवादीले आफ्नो दाबी गरेको थियो ।

२५ गते सरकारमा दाबी पेस गरेका जम्कट्टेललाई सोही दिन प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गरेका थिए भने पुस २६ गते बिहान पद तथा गोपनीयताको शपथ गराएका थिए । २५ गते संघीय संसदको बैठकमा सहभागी हुन २४ गते नै काठमाडौं हानिएका पूर्वमुख्यमन्त्री पाण्डे मुख्यमन्त्री जम्कट्टेललको शपथ ग्रहणमा सहभागी हुन पुस २६ गते पुनः हेटौंडा ओर्लिए । उनी शपथ ग्रहणमा आउनुको मुख्य कारण थियो एकीकृत समाजवादीबाट मन्त्री नियुक्ति ।

पुस २६ मा मुख्यमन्त्री पदको शपथ ग्रहण लगत्तै जम्कट्टेलले २ जना मन्त्री नियुक्त गरेका थिए । जसमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई भने मन्त्रालयको जिम्मेवारी पछि तोक्ने गरी मन्त्री बनाइएको थियो ।

पूर्वमुख्यमन्त्री पाण्डे सोही दिन एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद शर्मा खनाललाई मन्त्री नियुक्त गर्न चाहन्थे । जस अनुसार प्रदेशको पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका खनाललाई सोही मन्त्रालयको जिम्मेवारी सहित मन्त्री बनाउन पाण्डेले मुख्यमन्त्री जम्कट्टेललाई निरन्तर दबाब दिइरहेका थिए । सत्ता साझेदार दल एमाले र राप्रपाको छलफल बिना कुनै पनि जिम्मेवारीको निर्णय नगर्ने जम्कट्टेलको अडानपछि पाण्डेको एकीकृत समाजवादीलाई सरकारमा पठाउने र खनाललाई मन्त्री बनाउने योजना फेल भएको थियो ।

उक्त योजना फेल भएपछि पाण्डे २६ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मत सम्बन्धी प्रस्तावमा सहभागी हुन काठमाडौं पुगेका थिए । त्यस यता एकीकृत समाजवादीले सत्ता गठन्बधनमा भागबण्डाको लागि २ मन्त्रालयको माग निरन्तर राखिरहेको थियो । गठबन्धन दलले मन्त्रालयका भागबण्डामा एकीकृत समाजवादीलाई समेट्ने अवस्था नरहेपछि शुक्रबारको सभामुख निर्वाचनमा सो दल तटस्थ बसेको थियो ।

सरकारमा सहभागी हुन मुख्यमन्त्रीलाई समर्थन गरेको एकीकृत समाजवादी सभामुखमा तटस्थ बसेको हो । सरकारमा सहभागी हुन एकीकृत समाजवादीले २ मन्त्रालय पाउनुपर्ने सर्त राखेको प्रदेशसभाका एक सदस्यको भनाइ छ । आफ्नो माग अनुसार सत्ता गठबन्धनका दलले भागबण्डा नगर्ने भएपछि सभामुख निर्वाचनमा तटस्थ बसेको उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com