२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

दशगजा विवादले ८ वर्षदेखि पुल निर्माण अलपत्र

दशगजा विवादले ८ वर्षदेखि पुल निर्माण अलपत्र

जनकपुरधाम। नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित जमुनी नदीको तुल्सीयाही बेला थलहीघाटमा निर्माणाधिन पुल दशगजा विवादले ८ वर्षदेखि अलपत्र छ । सडक डिभिजन कार्यालय जनकपुरधाको रेखदेखमा उक्त पुलको कार्य २०७१ मै निर्माण सुरु गरिएको थियो । तर दशगज्जा विवादले ८ वर्ष बिति सक्दा पनि निर्माण कार्य अझै बढाइएको छैन ।

वि. सं. २०७१ साउन १५ गते बज्रगुरु म्याँग्लुंग जेभि जनकपुरधामले सडक डिभिजन कार्यालय जनकपुरसँग दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ४ करोड ७२ लाख ६४ हजार ६ सय २६ रुपैयाँमा निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । निर्माण सम्पन्न नभएपछि कार्यालयले वि. सं. २०७७ माघ ३० गतेभित्र काम पूरा गर्न म्याद थप गरेको थियो । तर सो अवधिमा पनि निर्माण हुन सकेको छैन ।

सडक डिभिजन कार्यालयले उक्त पुल निर्माणबापत ठेकेदार कम्पनीलाई हालसम्म २ करोड १२ लाख ९ हजार ८२ रुपैयाँ भुक्तानी गरिसकेको छ । निर्माण कम्पनीले पुलको फाउण्डेशन पिलर तयार गरि करिब ५० प्रतिशतभन्दा बढी काम गरिसकेको अवस्थामा भारतीय पक्षले सीमाको विवाद खडा गरेपछि पुल निर्माण कार्यमा अवरोध सृजना भएको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले बताए ।

निर्माण कार्य सुरु गरेको वर्षौं भइसक्दा पनि ठेकेदार तथा सडक डिभिजन कार्यालयले चासो नदेखाउँदा समस्या झन बढेको गाउँपालिका अध्यक्ष यादवले सुनाए। उनले निर्माण भइरहेको पुल नेपालको सीमा क्षेत्रमै रहेको छ । तर ठेकेदार र सडक डिभिजन कार्यालय जनकपुरको वेवास्ताका कारण पुल निर्माणमा करोडौं रकम भुक्तानी भईसक्दा पनि काम सम्पन्न हुन नसकेको उनको भनाइ छ । निर्माण काम सुरु भएको डेढ वर्षपछि भारतले सीमा विवाद खडा गरेर अवरोध गरेपछि हालसम्म अघि बढन सकेको छैन । विवाद भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारीको पहलमा नेपाल र भारतका सर्वे टोलीले सो पुलको नाप नक्सा समेत गरेको थियो ।

तत्कालीन भारतीय राजदूत मनजिवसिंह पुरीले पनि त्यो पुलको अनुगमन गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए । तर हालसम्म पुलको काम अगाडि बढ्न सकेको छैन । नेपाल–भारतको सीमा क्षेत्रमा पर्ने धनुषाको मुख्यिापट्टी मुसरनिया गाउँपालिकास्थित जमुनी नदीको तुल्सीयाही बेला थलहीघाटमा पुल दुवै देशको धार्मिक सांस्कृतिसँग समेत जोडिएको स्थानीयको भनाइ छ ।

स्थनिय रामअयोधि यादवकाअनुसार सर्वसाधारणलाई आवतजावतमा मात्र होइन १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा माता सीता ९किशोरीजी० को डोला सोही बाटो भएर आउने जाने गरेको कारण समेत समस्या हुँदै आएको छ । सो पुलको हालसम्म दुई वटा पिलर र बीचको पाईल क्याप मात्र निर्माण हुन सकेको छ । बाँकी सबै काम बाँकी नै छ ।

ठेक्का कम्पनीलाई करिब ५० प्रतिशत रकम भुक्तानी र म्याद थप गरिए पनि के कति कारण निर्माण कार्य अघि नबढाइएकोबारे सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख सञ्जय मिश्रले पुल निर्माणको ठेक्का पाएका कम्पनीलाई एक साताभित्र पुनः काम सुरु गराउने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com