२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

प्रमुख निर्वाचन आयुक्त भन्छन्–चैतपछि मात्रै चितवन-२ मा उपनिर्वाचन हुन्छ

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् ।

मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको  प्रक्रिया सुरु हुने उनले बताएका हुन् । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उनले बताए ।

नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि लामिछानेको पद गुमेपछि सो क्षेत्रमा पुनः निर्वाचन हुन लागेको हो । देशभर मतदाता नामावली अद्यावधिक सुरु गरेपछि कम्तीमा ४० दिन समय लाग्ने भन्दै प्रमुख आयुक्त थपलियाले त्यसपछि मात्रै उपनिर्वाचनका लागि आयोगले समय तोक्ने रातोपाटीलाई जानकारी दिए ।

उनले भने,‘ सरकारसँग सुरक्षा र बजेट माग गरेर उपनिर्वाचनको मिति आयोगले नै तोक्ने हो । उपनिर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई नै छ । त्यसअघि मतदाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ । प्रदेशको मात्र भएको प्रदेशभरिको गरे पुग्ने थियो । संघीय संसदको चुनाव भएकोले देशभरिको जोपनि योग्यता भएको मतदाता उम्मेदवार हुने पाउने भएकोले मतादाता नामावली अद्यावधिक गर्नुपर्ने हुन्छ । आयोगले सुरुमा यसको तयारीमा जुट्दैछ ।’

आयोगले मतदाता नामावली अद्यावधिक गर्नका लागि छिट्टै मिति तोकेर काम सुरु गर्ने तयारीमा रहेको उनले बताए । राष्ट्रपतिलाई आयोगको वार्षिक प्रतिवेदन बुझाउने, नयाँ राष्ट्रपतिको निर्वाचन सकेपछि मात्रै उपनिर्वाचनको विषयमा प्रवेश गर्ने आयोगको तयारी छ ।

आयुक्त थपलियाले भने, ‘उपनिर्वाचन गर्न आयोगलाई कुनै समस्या छैन, बजेट छँदैछ, सामान छँदैछ । सरकारले पनि ढिलो गर्ने भनेको छैन जस्तो लाग्छ, हामी त चुनाव गर्न अधिकार पाएर बसेको मान्छेले ढिलो गर्ने त कुरै छैन ।’

राष्ट्रपतिको निर्वाचन अघि उपनिर्वाचनको सम्भावना नरहेको बताउँदै उनले छिटोमा आगामी चैत मसान्तपछि मात्र गर्न सकिने बताए । गत मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले निर्वाचित भएका थिए ।

लामिछानेले ४९ हजार ३ सय मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत र तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६६२ मत पाएका थिए ।

अमेरिकाको नागरिकता त्याग गरेको निस्सा जिल्ला प्रशासन कार्यालयमा बुझाएर पहिलेकै नागरिकता कायम गर्न त्रुटिका कारण लामिछानेले उपप्रधान तथा गृहमन्त्री, सांसद, पार्टी सभापति पद गुमाउन पुगेका थिए । नागरिकता प्राप्तिपछि पुनः गृहमन्त्रीमा जान चाहेका लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त नगरेपछि उनको दल सरकारलाई दिएको विश्वासको मत कायम राख्दै आइतबार सरकारबाट बाहिरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com