२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

जिम्मेवारी लिएर प्रदेशको नामकरण गरेका हौं : मुख्यमन्त्री कार्की

जिम्मेवारी लिएर प्रदेशको नामकरण गरेका हौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको प्रक्रियामा विगत सरकारका नेतृत्वले गरेका कमीकमजोरीहरू सच्याउँदै आफूले जिम्मेवारी लिएर प्रदेशको नामकरण गरेको दाबी गरेका छन् । उनले विगतमा कमीकमजोरी भएकै कारण प्रदेश संरचना तयार भएको ६३ महिनासम्म पनि नामकरणको विषय अलमलमा परेकाले आफूले नेतृत्व गरेर कोशी प्रदेश नामकरण गर्न सफल भएको बताएका हुन् ।

बिहीबार नेपाल चिकित्सक संघको २९औं चिकित्सक सम्मेलनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको नाम जुनसुकै राख्दा पनि आलोचना हुने अवस्था बनाइएकाले विगतमा नामकरण हुन नसकेको जिकिर गरे । दोस्रो प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलबाट निर्वाचित सार्वभौम प्रदेश सभाका सदस्यहरूले कोशी प्रदेश नामकरण गर्ने प्रस्ताव पारित गरेको उनले बताए । साथै कोशी प्रदेशलाई नै सबैले स्वीकार गरेर जानुपर्ने बताए ।

‘संविधान सभाले टुंग्याउन नसकेपछि तल पन्छाइएको विषय थियो’ मुख्यमन्त्री कार्कीले भने, ‘पूर्ववर्ती सरकारहरूको कमीकमजोरी गर्दा ६३ महिनासम्म हामी सबै अल्मलियौं, जेसुकै नाम राख्दा पनि आलोचना हुन्थ्यो, मैले जिम्मेवारी लिएर नामकरण टुंगोमा पुर्‍याएको हो ।’

उनले विगतमा नामकरणको प्रक्रिया सुरु भएपनि गलत कुराहरूको बीजारोपण गरिएका कारण प्रदेशले नाम पाउन नसकेको आरोप लगाए । जुनसुकै नाम राख्दा पनि आलोचना हुने अवस्थाको अन्त्य गर्नका लागि सबै दलको सहकार्य महत्वपूर्ण रहेको बताए । मुख्यमन्त्री कार्कीले प्रदेश १ को राजधानी विराटनगर मै चिकित्सक संघले निर्माण गर्ने घोषणा गरेको मेडिकल संग्राहलय राख्न आग्रह गरे । त्यसका लागि जग्गा व्यवस्थापन लगायतका काममा सहयोग गर्न प्रदेश सरकारले समेत समन्वय गर्ने बताए ।

विराट मेडिकल कलेजको सहयोगमा आयोजित सम्मेलनका अवसरमा संघका ३१औं कार्यकारिणी समितिका अध्यक्ष डा।लोचन कार्कीले नवनिर्वाचित ३२औं कार्यकारिणी समितिका अध्यक्ष डा।अनिल विक्रम कार्कीलाई पद हस्तान्तरण गरेका थिए ।

नेपाल चिकित्सक संघ वि।सं। २००७ फागुन २० मा विराटनगरमै पहिलो केन्द्रीय तदर्थ समितिका रूपमा गठन भएको थियो । अहिले करिब १३ हजार चिकित्सकहरू संघमा आबद्ध रहेको जनाइएको छ । सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा।रोशन पोखरेल, भारतीय मेडिकल एशोसिएसनका अध्यक्ष डा।सरदकुमार अग्रवाल लगायत उपस्थित थिए ।

सोही अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।आरपी बिच्छासहित डा. सुधा शर्मा र डा. केदार शर्मालाई संघले सम्मानित गरेको थियो । संघले प्रदान गर्दै आएको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड डा. गौरिशंकर लाल दासलाई प्रदान गरिएको थियो । रुपा चिकित्सा सेवा अवार्ड अन्तरगत चिकित्सा सेवातर्फ डा।भोला रिजाललाई एक लाख रुपैयाँ र स्वास्थ्यकर्मी लहरमाया बान्सिकालाई २५ हजार रुपैयाँ राशिसहित सम्मानित गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com