२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

यस्तो छ अहिले इँटाको भाउ, चार कोठे घर बनाउँदा कति लाग्छ खर्च?

आजभोलि सहर होस् वा गाउँमा, घर बनाउन इँटा नभइ हुँदैन। घर बनाउने सोच्दै हुनुहुन्छ र इँटाको भाउ के कसो छ भन्ने थाहा छैन भने आज हामीले यसैबारे जानकारी दिएका छौं।

निर्माण क्षेत्रमा अत्यावश्यक बनिसकेको इँटाको मूल्य गुणस्तर हेरेर तय गरिएको हुन्छ। काठमाडौं उपत्यकाको कुरा गर्दा यहाँ धादिङको स्थानीय इँटा धेरै चल्तीमा छ। यो अरू इँटाभन्दा सस्तो पर्छ।

त्यस्तै भक्तपुरे र तराईबाट आउने इँटा उत्तिकै प्रयोग हुन्छ। भक्तपुरेको भाउ धादिङको इँटाकै हाराहारी पर्छ भने तराईको अलि महँगो पर्छ।

काठमाडौंको बल्खुमा रहेको गोल्डेन निर्माण सप्लायर्सले लामो समयदेखि निर्माण सामग्री बिक्री गर्दै आएको छ। सप्लायर्सका सञ्चालक ऋषि खतिवडाका अनुसार अहिले यी तीन खाले इँटाको भाउ गोटाको ‍१४ रूपैयाँदेखि २१ रूपैयाँसम्म पर्छ।

बजारमा धादिङको लोकल इँटा प्रतिगोटा १४ देखि साढे १४ रूपैयाँसम्म बिक्री भइरहेको छ। त्यस्तै भक्तपुरे इँटा गोटाको १५ देखि १६ रूपैयाँ पर्छ। तराईको इँटा प्रतिगोटा २० देखि २१ रूपैयाँ छ।

‘इन्धनको मूल्य बढेकाले दुई/तीन महिनायता तराईको इँटा गोटामा एक/दुई रूपैयाँ बढेको छ,’ खतिवडाले भने।

तराईको इँटा महँगो भए पनि धादिङ र भक्तपुरको इँटाको भाउ पोहोरको तुलनामा एक-दुई रूपैयाँ कम नै हो। निर्माणको सिजन र पेट्रोलियम पदार्थको भाउ धेरै भएका बेला स्थानीय इँटाको भाउ कम्तीमा १६ रूपैयाँ गोटा थियो।

अहिले देशको आर्थिक अवस्थासँगै उपभोक्ताको किन्ने क्षमता पनि कम छ। यही कारण इँटाको भाउ अझै घट्ने संकेत देखिएको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार बताउँछन्।

‘घर बनाउनेको संख्या घट्दो छ। त्यसैले इँटाको मूल्य अझै घट्न सक्छ,’ उनले भने।

चार कोठाको एक तले घरमा कति इँटा लाग्छ?

सबैले एकैपटक ठूलो घर बनाउन सक्ने हुँदैन। आफ्नो आवश्यकता पूरा हुन्छ भने धेरैलाई चार कोठाको एक तले सानो घर बनाउने सोच हुन सक्छ। यस्तो घर बनाउन पर्दा इँटामा मात्र कति खर्च होला भन्ने जिज्ञासा पनि हुन्छ।

हामीले यहाँ यिनै जिज्ञासा मेटाउने प्रयास गरेका छौं।

काठमाडौं उपत्यकामा लामो समयदेखि निर्माण काममा सक्रिय इञ्जिनियर विपीन गैरेले सकेसम्म कम इँटा राखेर राम्रो चार कोठे घर बनाउन कसरी सकिन्छ भन्नेबारे हामीलाई जानकारी दिएका छन्।

कुनै पनि घर बनाउँदा कति निर्माण सामग्री चाहिन्छ भन्ने कुरा त्यसको डिजाइनअनुसार तय हुने उनी बताउँछन्। कति इँटा लाग्छ भन्ने कुरा पनि डिजाइनमै भर पर्छ।

‘सबभन्दा पहिले त कस्तो घर बनाउने, कतिवटा झ्याल, ढोका राख्ने भन्ने निधो गर्नुपर्छ। किनकी झ्याल, ढोका र घरको डिजाइनले इँटा कति चाहिन्छ भन्ने फरक पर्छ,’ गैरेले भने।

छत ढलान गरी बनाइने घरमा इँटा बढी लाग्छ। यसमा आवश्यकता अनुसार तला थप्दै जान पनि सकिन्छ। त्यस्तै इँँटाको पर्खाल लगाउने तर ढलान नगरिने, जस्ता वा अरू किसिमका छाना राखिने घरमा कम इँटा प्रयोग गर्न सकिन्छ।

सहरी क्षेत्रमा, झन् काठमाडौं उपत्यकामा ढलानबिनाको घर त्यति प्रयोगमा आउँदैन।

घर बनाउँदा भविष्यमा तला थप्ने विचारले बनाउँदा नै ठीक हुने गैरैको पनि सुझाव छ। ढलान घरको जग बलियो चाहिने भएकाले धेरै इँटा खपत हुन्छ।

‘ढलान गर्ने घरमा जग बलियो पार्नुपर्छ। नौ इन्चको जग अनिवार्य हुन्छ। त्यसले धेरै इँटा डिपिसीमुनि खपत हुन्छ,’ उनले भने, ‘पहिलो तला घरको आधार (मुख्य) पनि भएकाले नौ इन्चकै गारो लगाउन सुझाव दिन्छौं।’

नौ इन्चको गारो लगाउनुको अर्को फाइदा पनि छ– घरको भित्री भागलाई ओसबाट जोगाउनु।

बाक्लो पर्खाल हुँदा चिसो ओसबाट जोगिन मद्दत पुग्छ।

त्यस्तै इँटाको लागत आकलन गर्ने अर्को पाटो झ्याल र ढोका हुन्।

कुनै कोठामा तीन वटासम्म झ्याल राख्न मिल्ने हुन्छ। यस्तो कोठामा झ्यालले धेरै भाग खाने हुँदा इँटा कम लाग्छ। त्यस्तै कुनै कोठामा दुई वटा ढोका राख्नुपर्ने हुन्छ। त्यसैले झ्याल र ढोका कति वटा राख्ने हो भन्ने तय गरेर सोहीअनुसार इँटाको लागत अनुमान गर्नुपर्ने हुन्छ।

सामान्यतया प्रत्येक कोठामा दुइटा झ्याल, एउटा ढोका राखेर घर बनाइन्छ। यस्तो डिजाइनमा नौ इन्चको गारो लगाउँदा करिब २५ देखि ३० हजार वटा इँटा चाहिने गैरेले बताए।

‘प्रायःले घर ढलान गरेर नै बनाउने हुन्। यस्तो चार कोठे घर बनाउन २५ देखि ३० हजार वटा इँटा भए पुग्छ,’ गैरेले भने, ‘घर बाहिर सीमा छुट्याउने पर्खाल र बाँकी कामका लागि भने अरू इँटा थप्नुपर्छ। यो संख्यामा घरको जग, पर्खाल र ढलान मात्रै हुन्छ।’

घरको पर्खाल/गारो इँटाको लगाएर ढलान नगरी घर बनाउने हो भने ८ देखि दस हजार वटा इँटा भए पुग्छ।

गैरेका अनुसार पर्खाल मात्र लगाउनु पर्ने घरको जगमा धेरै इँटा लाग्दैन। भित्री पर्खालमा पनि सिमेन्टको जोडाइमा पाँच इन्च गारो लगाए हुन्छ। त्यसैले यस्तो घरमा ढलान गरिएको भन्दा आधा कम संख्यामा इँटा चाहिन्छ। गाउँघरतिर बनाइने घरमा यो तरिका अपनाइएको हुन्छ।

अब माथिको भाउका आधारमा ढलान गरेर बनाइने चार कोठे घरका लागि कति खर्च चाहिन्छ भन्ने हिसाब गरौं।

यदि गोटाको १४ रूपैयाँ पर्ने धादिङको इँटा किन्ने हो भने तीन लाख ५० हजार रूपैयाँदेखि चार लाख २० हजार रूपैयाँ छुट्याउनुपर्छ।

त्यस्तै १६ रूपैयाँ गोटाको भक्तपुरे इँटा राखे चार लाखदेखि चार लाख ८० हजार रूपैयाँसम्म खर्च हुन्छ।

तराईको इँटा राख्यो भने चाहिँ महँगो पर्न जान्छ। २० देखि २१ रूपैयाँ गोटा पर्ने यो इँटाका लागि पाँच लाख रूपैयाँदेखि ६ लाख ३० हजार रूपैयाँसम्म चाहिन्छ।

पर्खाल/गारो मात्रै लगाएर चार कोठे घर बनाउने हो भने कम्तीमा एक लाख ५० हजार र बढीमा दुई लाख १० हजार रूपैयाँ छुट्याउनु पर्छ।

यो लागत औसतमा गरिएको हिसाबका आधारमा निकालिएको हो। बजारमा इँटाको मूल्य हेरफेर हुँदा अनुमानित रकम केही तलमाथि हुन सक्छ। त्यस्तै घर बनाउने ठाउँको दुरीले पनि खर्चमा केही थपघट हुन सक्छ। आफ्नो आवश्यकताअनुसार कस्तो घर बनाउने हो र निर्माण सामग्रीमा कति खर्च होला भन्नेबारे घर बनाउनुअघि नै इञ्जिनियर वा ठेकेदारसँग बुझ्नु राम्रो हुन्छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com