२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

सोचेजस्तो छैन युरोप र पोर्चुगल

भिसा अनेक तर गन्तव्य एक पोर्चुगल

युरोपियन युनियनको सेनजेन समूहमा रहेको देश पोर्चुगल, नेपालभन्दा सानो छ। जनसंख्या पनि नेपालको भन्दा आधा नै कम छ। विगत सन् २०१५ देखि त यहाँको जनसंख्या वृद्धिभन्दा घट्ने क्रम बढी छ।

युरोपमा मात्र नभएर विश्वमै पोर्चुगल आप्रवासीको लागि उदार नियम भएको मानिन्छ। यहाँ नेपाल लगायत दक्षिण एसियाली राष्ट्र, अफ्रिकी राष्ट्रका साथै युक्रेन ब्राजिललगायत देशका आप्रवासी श्रमका साथ यहाँको कार्ड र पासपोर्टको लागि आउने गर्छन्।

बाध्यता वा रहर जे भए पनि विगत केही वर्षदेखि नेपालीका लागि आकर्षणको केन्द्र र गन्तव्य हो पोर्चुगल।

पोर्चुगलको मुख्य आम्दानी पर्यटन र कृषि नै हो। यहाँ आप्रवासीको लागि खुकुलो नियम त छँदैछ, यसको साथै लगानी गर्नेको लागि सहज र सरल छ।

यहाँ घर जग्गा किन्न यहाँको कार्ड या यहाँको भिसा नै हुनुपर्छ भन्ने छैन। यहाँ आएर फिनान्स नम्बर (व्यक्तिगत राजश्व नम्बर या ट्याक्स नम्बर) बनाएपछि पोर्चुगलमा आएको १-२ हप्तामा नै घर जग्गा किन्न सकिन्छ भने आफूले चाहेको व्यवसाय गर्न पनि सकिन्छ।

सामान्य कागजात पुर्‍याएपछि यहाँको अस्थायी बसोबास अनुमति पत्र दिने सँगै ५ वर्षमा पासपोर्टको लागि आवेदन दिन मिल्ने सरल नियम छ।

तर यतिबेला पोर्चुगल सोचेजस्तो छैन। काम र कोठाको समस्यासँगै नेपाली पासपोर्टको म्याद सकिएमा वा हराएमा अर्को बनाउन झन्झटिलो छ।

नेपालबाट जे सोचेर आईन्छ, यहाँ त्यो भन्दा आकास-पातालको फरक छ। एक त फरक भुगोल र अर्कै रहनसहन, भाषा-संकृतिमा अवसर पाउन निकै गाह्रो छ।

काम र कोठाको अभाव
यतिबेला पोर्चुगल अफसिजन हो। खेती र पर्यटन दुबै क्षेत्रमा यतिबेला काम पाउन मुस्किल हुन्छ। तर आप्रवासीहरू जतासुकैबाट पोर्चुगल भित्रने क्रम बढ्दोछ। एकातिर काम नपाएर समस्या छ भने अर्कोतिर कोठा पाउनसमेत मुस्कील छ। कहीँ कतै पाइहालेमा त्यसको चर्को भाडा तिर्नुपर्छ।

राजधानीलगायत अधिकांश सहरमा अहिले आवास संकट निम्तिएको छ। भएका साना-ठूला अपार्टमेन्टको मूल्य आकासिएका छन्। यतिबेला जो नेपालबाट सुनौलो भविश्य देखेर आएको हुन्छन् उनीहरू साच्चैनै अफ्ठ्यारोमा परेका छन्।

भिसा अनेक, गन्तव्य एक पोर्चुगल
नेपालबाट कोहीले विद्यार्थी भिसामा डेनमार्कको भिसा लगाउँछन्। केहीले हंगेरी र माल्टामा वर्क परमिट बनाएर युरोप छिरेका हुन्छन्। कतिपय युरोपियन मुलुकमा आयोजना हुने सेमिनार या गोष्ठीमा भाग लिन आएर भिसाहरू फरक-फरक भए पनि अधिकांशको गन्तव्य पोर्चुगल नै हो।

पछिल्लो समय रोमानियाबाट लरीमा आउने, साईप्रसबाट हिँड्दै लुक्दै आउने अनि सिजनल भिसामा युके आएकाहरू लरीमा लुकेर आउने केन्द्र नै पोर्चुगल हो।

नेपाली मात्र होइन बंगाली, भारतीयलगायत अन्य देशका सयौं मानिसहरू पोर्चुगलमा केहीले भिसा लगाएर त केही लुक्दै बसेका छन्। सवैको एउटै उद्धेश्य हो- यहाँको कार्ड बनाएर परिवार ल्याउने र यहाँको पासपोर्ट पाएर अन्य देसमा सिफ्ट हुने।

यहाँ १८ वर्षका युवादेखि ५० वर्षका नेपाली पनि आएर कार्ड बनाउन सक्छन्। यहाँ कार्ड बनाउन कुनै योग्यता, दक्षताको परिधि छैन। यहाँ वर्कपरमिटमा आउने होस् या भिजिटमा आउने होस् अथवा अन्यत्र सेनजेन देशमा भिजिटमा आउनेले पनि यहाँ कार्ड बनाउने गरेका छन्।

हिँडेर आउनेहरुदेखि अन्य युरोपियन देशमा विधार्थी भिसामा आउनेको अन्तिम गन्तव्य पोर्चुगल हो। किनकि, यहाँ कमाइ थोरै भए पनि कार्ड बन्न सहज छ।

नेपाली पासपोर्ट बनाउन समस्या
यतिबेला पोर्चुगलमा रहेका ६ हजार भन्दा बढी नेपालीको पासपोर्ट छैन। कतिपयले यहाँ आउँदा  बाटैमा पासपोर्ट फालेका छन् भने कतिपयको म्याद सकिएको छ।

पोर्चुगलमा नेपाली राजदूतावास छैन। यहाँ पासपोर्ट बनाउन मिल्दैन, यसका लागि फ्रान्स या स्पेन जानुपर्छ। त्यो पनि त्यति सहज छैन।

नेपाल सरकारले यहाँका नेपालीलाई आश्वासान मात्र दिने र काम नगर्ने कारणले ६ हजारभन्दा बढी नेपाली तनावमा छन्।

सोचे जस्तो छैन युरोप
पोर्चुगल मात्र होइन नेपालमा चर्को पैसा बुझाएर युरोप आउने अधिकांशको अवस्था उस्तै छ।

एजेन्टलाई ९ लाख तिरेर क्रोसिया आएकाहरूले त्यहाँ सम्झौता अनुसार काम र तलब पाएका छैनन्।  म्याग्दीका भरत हुन् वा पर्वतका शिव उनीहरू नेपालमा ९ लाखभन्दा बढी रकम एजेन्टलाई बुझाएर क्रोसीया आए तर त्यहाँ न सम्झौता अनुसारको काम पाए न त बस्ने ठाँउ नै पाएका छन्।

क्रोसीयाका स्थानीय एजेन्टले नेपालका एजेन्टलाई वर्क परमिट बेचेपछि उनीहरू यता आएर अलपत्र परेका हुन्।

तेह्रथुमका सञ्जय भट्टराई १२ लाख तिरेर पोल्यान्ड आए। त्यहाँ टर्की फर्ममा काम पाए पनि दैनिक १२ घन्टा खटेर काम गर्दा पनि भनेजस्तो पैसा पाएनन्। साहुको ऋण लिएर यता आएका उनलाई उक्त पैसा तिर्न वर्षौं लाग्ने भयो।

न खानाको ठेगान न बस्नकोनै त्यहीँमाथि पोलीस साहुको टर्चर सहन नसकेर उनी पोर्चुगल आएका छन्। तर यहाँ पनि काम र बस्ने ठाउँ नपाएर उतैको दुःख दोहोरिएको छ।

माल्टामा अहिले जो सुकै नेपालीहरूको पनि भिसा लागिरहेको छ। तर जे सोचेर माल्टा आएका हुन्छन् यहाँ पुगेपछि केही हुन्न। १२-१५ लाख खर्चेर माल्टा आएकाहरू सम्झौता अनुसारको काम र बस्ने ठाउँ नपाएर तनावमा छन्। त्यसपछि उनीहरू पनि बाध्य भएर पोर्चुगल आउन थालेका छन्।

माल्टामा नेपाली एजेन्टको बदमासीले नक्कली कागज पत्र बनाएको आरोपमा एक नेपाली महिला विगत ४ महिना देखि जेलमा छन्

वास्तवमा नेपालबाट जे सोचेर युरोप आईन्छ यथार्थ त्यो भन्दा बेग्लै छ। आएपछि फर्कने बाटो पनि छैन। गरि खाले मेलो पनि छैन।

सकेसम्म देशमै नै केही गरौं। केही उपाय नलागेर विदेश जानुपर्ने बाध्यता आउँदा सबैकुरा बुझेर मात्र जाऔं।

पोर्चुगल मात्र नभएर समग्र युरोपनै सोचेजस्तो छैन। एजेन्टको मिठो कुरा सुनेर दसौं लाख खर्चिएर हाम नफाल्नुहोस्।

आफूभन्दा  अगाडि गएकासँग बुझ्नुहोस्। इन्टरनेटमा आफू जान लागेको देशमा के कस्ता अवसर छन् र त्यहाँको न्युनतम तलव के कस्तो छ भन्नेबारे बुझ्नुपर्ने हुन्छ।

यतिबेला युरोपका केही देशमा जाडो मौसममा रोजगारको अति न्युन अवसर हुन्छ। त्यस्ता देशमा जाँदा त्यहाँका कामको सिजन र अवसर अनि त्यहाँ गएपछि आफूले सामना गर्नुपर्ने चुनौतीबारे जानकार भएर जाने हो भने धेरै दुःख पाईने छैन।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com