२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

माओवादी धारका पार्टीहरूको आरोप- एमालेका कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन ढिलाइ भयो

नेकपा माओवादीसहित माओवादी धारका ९ दलहरूले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘द्वन्द्वकालीन मुद्दा’ अदालतबाट हेर्न नहुने बताएका छन्।

विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्ने र द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दाका रूपमा हेर्न नहुने तथा विभिन्न आयोगबाट टुंग्याउनुपर्ने माओवादीका महासचिव देवप्रसाद गुरूङले बताए।

उनीहरूले द्वन्द्वकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत आयोगको क्षेत्राधिकारभित्र रहने पनि दाबी गरेका छन्।

‘विधेयक सदनमा पुगेको छ। छिटो ऐन संशोधन हुनुपर्छ। सदनबाट विगतमै ऐन संशोधन गर्ने कुरा थियो। तर दलहरूबीच सहमति भएन। नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंगाउन नकरात्मक धारणा लगातार राख्दै आयो,’ उनले भने, ‘पछिल्लो समयमा एमालेकै कारण विधेयक अड्कियो।’

कानूनलाई पूर्णता दिएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ‘विभिन्न आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र टुंगो लगाउन राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई संक्रमणकालीन न्यायका पक्षमा ऐक्यबद्धताका लागि हार्दिप अपिल गर्दछौं,’ वक्तव्यमा भनिएको छ।

उनीहरूले विभिन्न राजनीतिक दलसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन्।

‘शान्ति सम्झौता भएको १६ वर्ष पुग्दैछ। शान्ति प्रक्रियाका बाँकी कार्यहरू पूरा गर्ने भन्ने प्रतिबद्धता तत्कालीन विद्रोही र सरकारबीच सम्झौता भएको थियो,’ महासचिव गुरूङले भने, ‘तर ती पक्षका सन्दर्भमा यतिखेर शान्ति प्रक्रियासँग जोडिएका मुद्दाबारे जसरी बहस भइरहेका छन्, शान्ति प्रक्रिया टुंग्याउन ढिलाइ हुनु र क्षेत्राधिकार फरक ढंगले जान खोजेकोले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चिन्ता प्रकट भएको छ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com