२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

काठाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठलाई निलम्बन गरेर उनीमाथि छानबिन अगाडि बढाउने निर्णय भएको रास्वपा महामन्त्री मुकुल ढकालले इकागजलाई जानकारी दिए ।

उनका अनुसार श्रेष्ठलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । ‘हाम्रो पार्टीको अनुशासन आयोगले उहाँमाथि एक साता लगाएर अनुसन्धान गर्छ । उहाँ दोषी देखिए कारबाही गर्छौँ । हाललाई भने उहाँलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरेका छौँ,’ महामन्त्री ढकालले भने ।

समानुपातिक सांसद श्रेष्ठले अडियोमा प्रसाईंसँग पार्टीले आफूलाई स्वास्थ्य मन्त्री बनाउन दुई करोड रुपैयाँ मागेको, तर साे रकम आफूसँग नभएको भनिरहेको सुन्न सकिन्छ । ‘स्वास्थ्य हामीले पाउने भयो । पार्टीलाई अलिकति सहयोग गर भनिरहेका छन् उनीहरूले । एउटा कोर टिम छ, दुई/तीन जनाको । मलाई साढे दुई जति चाहियो भनिरहेका थिए हिजो । आज साँझ मैले फिक्स गर्नु छ क्या दाइ । मेरो पक्का चाहिँ पक्का भयो,’ श्रेष्ठले प्रसाईंसँग भनेका छन्, ‘मन्त्री पनि बन्नु पर्‍यो । स्वास्थ्य क्षेत्र धोइपखाली सुधार पनि गर्नुपर्‍यो । त्यसमा तपाईंहरूको सहयोग सपोर्ट चाहियो भन्ने कुरा नै हो ।’

प्रसाईंले पैसा जुटाइदिए मन्त्री बनेपछि आफूले सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले गरिरहेका छन् । अडियोमा प्रसाईं उनको प्रस्ताव मान्न तयार भएको पनि सुन्न सकिन्छ ।

तर, पार्टीले श्रेष्ठसँग कुनै पनि रकम नमागेको र उक्त कुरा झुटो भएको महामन्त्री ढकालले जिकिर गरे ।

समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com