२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका अनुभवबाट शिक्षा लिएर यसपटक सिधै किसानको हातमा अनुदान दिने नीति सरकारले लिएको बताएका छन् ।

शुक्रबार दिउँसो काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय भेलामा प्रचण्डले भने, ‘विगतमा अर्बौं, अर्बका अनुदानका कार्यक्रम बने । तर, तिनीहरूको सही सदुपयोग हुन सकेन । जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो । त्यो एक प्रकारले बालुवामा पानी हालेजस्तै भयो । विगतका अनुभवबाट शिक्षा लिएर सरकारले यसपटक सिधै किसानको हातमा पुग्ने गरी अनुदान दिने नीति लिएको छ ।’

नेपालको विकासका लागि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै प्रचण्डले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए । ‘प्रकृतिले दिएको साधन स्रोतका दृष्टिले हामी गरिब छैनौँ, हामी धेरै धनी छौँ । हामीसँग जमिन, जंगल, हिमाल, जडीबुटी, जलविद्युत्‌को उत्पादन र सदुपयोगमार्फत् निर्यातमुखी अर्थतन्त्रको विकास गर्नसक्ने प्रचुर सम्भावना छ,’ उनले भने, ‘तर, त्यसको सही सदुपयोग गर्नुपर्ने चुनौती हाम्रा सामु छ ।’

श्रम संस्कृति कमजोर हुँदै जाँदा परनिर्भरता बढेको उनको भनाइ छ । ‘४० वर्षअघि खाद्यान्न निर्यात गर्ने हामी किन गरिब भयौँ । हामीले विगतभन्दा राम्रो पढ्यौँ, राम्रो ज्ञान पनि आर्जन गर्‍यौँ । तर, हाम्रो श्रम संस्कृति कमजोर हुँदै गयो,’ प्रचण्डले भने, ‘हामी परनिर्भर हुँदै गयौँ । हामीले यसको गहिरो समीक्षा गर्न जरूरी छ । श्रम र मेहेनतबिना संसारको कुनै पनि मुलुक बन्दैन र बनेको पनि छैन ।’

सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत भएको भन्दै प्रचण्डले बेथिति नियन्त्रणमा दृढ रहेको बताए । ‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ । हामीकहाँ भएको फोहोरको थुप्रै सफा गर्नु छ,’ उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै बेथिति छन्, तिनीहरू पनि नियन्त्रण गर्नु छ । हामी यसमा दृढतापूर्वक अगाडि बढ्छौँ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com