२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

कास्कीका पाँच पालिकाको बजेटमा पूर्वाधारलाई प्राथमिकता

पोखरा- कास्कीका पाँच स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ । बजेटभन्दा अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रक्रिया छ । बजेटअघिको नीति तथा कार्यक्रम माथि टेकेर बजेट विनियोजन हुन्छ । सोही अनुसार यहाँ सबै पालिकाले बजेट ल्याएका छन् । नीति तथा कार्यक्रममा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायत विषयलाई प्राथमिकतामा राखे पनि यहाँका सबै पालिकाले बजेट जति पूर्वाधारमा छुट्याएका छन् ।

देशकै ठूलो पोखरा महानगरले पर्यटकीय राजधानी घोषणालाई प्राथमिकतामा राखे पनि धेरै बजेट पूर्वाधारकै लागि छुट्याएको छ । आइतबार मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड रुपैयाँ प्रस्तुत गरेकी छिन् । पोखराले सबैभन्दा बढी भौतिक पूर्वाधारतर्फ २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ भने कार्यालयतर्फ ८१ करोड २२ लाख, सामाजिक विकासमा ६ करोड ५० लाख, आर्थिक विकासमा १० करोड विनियोजन गरेको छ । यस्तै वडा कार्यालयतर्फ ७२ करोड ६० लाख, सहरी विकासमा ७० करोड बजेट छ । विभिन्न कोषहरूमा १४ करोड राखिएको छ । आगामी वर्ष उत्पादनको आधारमा कम्तीमा ७० प्रतिशत अनुदान दिने कार्यक्रम अघि सारिएको छ । व्यावसायिक कृषि उत्पादन कार्यक्रमलाई १ करोड २४ लाख विनियोजन भएको छ । स्वास्थ्यका सबै कार्यक्रमका लागि ३५ करोड ५६ लाख छुट्याएको गुरुङले बताइन् ।

प्रत्येक वडामा स्मार्ट शौचालय निर्माण गर्न १ करोड ५० लाख विनियोजन भएको छ । छिमेकी पालिकासँगको साझेदारीमा आयोजना सञ्चालन गर्न १ करोड ५० लाख, पोखरा चक्रपथको सम्भाव्यता अध्ययनमा १ करोड ५० लाख, सवारी साधन मर्मत गर्ने वर्कशपलाई एकै ठाउँमा लैजान ५० लाख, फेवा फेरो पदमार्ग निर्माण गर्न ४० लाख, फिर्के अतिक्रमण हटाइ करिडोर निर्माण गर्न १ करोड ५० लाख बजेट राखिएको छ ।

मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले ८८ करोड ८२ लाखको बजेट गाउँसभामा प्रस्तुत गरेकी छिन् । मादीले भने सबैभन्दा बढि सामाजिक विकासमा बजेट छुट्याएको छ । सामाजिक विकास पछि यस पालिकाको प्राथमिकतामा पनि पूर्वाधार विकास नै परेको छ । पूरा बजेटमध्ये मादी गाउँपालिकाले आर्थिक विकासमा ६ करोड ३० लाख, सामाजिक विकासमा ४९ करोड ९९ लाख, पूर्वाधार विकासमा १७ करोड ४१ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड २७ लाख र सुशासन तथा संस्थागत विकासमा १३ करोड ८३ करोड बजेट विनियोजन गरेको छ ।

कास्कीको रुपा गाउँपालिकाले आगामी वर्ष पालिकाले ४३ करोड २९ लाखको बजेट सार्वजनिक गरेको छ । यसमध्ये ३३ करोड ८५ लाख चालु र ९ करोड ४४ लाख पुँजीगत बजेट छ । रुपाले पूर्वाधार विकास कार्यक्रममा १ करोड १५ लाख छुट्याइएको छ । यसबाहेक मह उत्पादन बृहत्तर कार्यक्रमका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । युवा स्वरोजगार कार्यक्रममा ३० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रममा ७१ लाख र लघु उद्यम विकास कार्यक्रमका लागि १७ लाख विनियोजन भएको छ । कृषि क्षेत्रको व्यावसायीकरण गर्न २ करोड १० लाख, पालिकाको प्रशासकीय भवन निर्माण गर्न १ करोड, वडा नम्बर २ को भवन बनाउन १ करोड १० लाख विनियोजन भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले आइतबारको गाउँसभामा ६१ करोड ६८ लाखको बजेट प्रस्तुत गरेकी छिन् । गाउँपालिकाले वडागत पूर्वाधार विकासका लागि २ करोड २२ लाख विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम गर्न २ करोड २४ लाख, स्वास्थ्यका कार्यक्रममा १ करोड १९ लाख, लक्षित वर्गमा १ करोड ६ लाख छुट्याएको छ । पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकास गर्न वडागत योजना तथा कार्यक्रमको लागि एकमुस्ट ४ करोड ७७ लाख विनियोजन भएको उपाध्यक्ष अधिकारीले बताइन् । पालिकाभित्रका पर्यटकीय पदमार्ग निर्माण र स्तरोन्नतिका लागि १० लाख, प्रवर्द्धनमूलक कार्यक्रम चलाउन १० लाख, सेवा प्रवाह, सुशासन र संस्थागत विकासका लागि एकमुस्ट २ करोड ४५ लाख बजेट छ ।

अन्नपूर्ण गाउँपालिकाले ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले आइतबार भएको १४ औं गाउँ सभामा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । जसमा यस पालिकाले बजेटको धेरै अंश भौतिक पूर्वाधारमा छुट्याएको छ । अन्नपूर्ण गाउँपालिकामा चक्रपथ निर्माण र अन्य सडक निर्माण एवं स्तरोन्नति गर्न समपूरक अनुदानसहित विशेष प्राथमिकताका साथ ३ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास उर्जा लघु तथा साना जलविद्युत् सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरूका लागि १ करोड ७७ लाख बजेट विनियोजन भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com