२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

कोशीमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनको दाबी  गर्न दलहरूलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुख खापुङ्गले नेपाल सरकारका महान्यायाधिवक्ताबाट प्राप्त भएको रायका आधारमा उपधारा (२) बमोजिमकै सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरिएको उल्लेख छ ।

‘कोशी प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई मिति २०८०/३/२१ गते बिहीबार अपरान्ह ५ः०० बजेभित्र कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री कार्की २०७९ पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेपछि पदमुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरेपछि विशेष गरी प्रतिपक्षमा रहेका दलहरूले नयाँ सरकार गठनका लागि राजनीतिक लविङ सुरु गरेका थिए ।

प्रदेश प्रमुख खापुङ्गले नयाँ सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वा उपधारा (३) बमोजिम मध्ये कुन उपधाराको आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नको लागि राजनीतिक दलहरूलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलसँग कानुनी राय माग गरेका थिए ।

महान्यायाधिवक्ताबाट आइतबार प्राप्त रायसमेतको आधारमा प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com