२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

‘१० सेकेन्ड मात्रै ढिलो भएको भए उम्किन सक्थ्यो सुन,महानिर्देशक : नवराज ढुंगाना

४ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार त्रिभुवन विमानस्थल कार्गो परिसर अघिबाट एक सय किलो बढी अवैध सुन बरामद गर्‍यो । एक अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सुन विभागले आफ्नै पहलमा सफल अप्रेसन पछि अहिले विभाग सुनसँग जोडिएको कनेक्सनबारे थप अनुसन्धानमा छ ।

१० दिनअघि आएको कच्चा सूचनालाई विभागको सिंगो संयन्त्र परिचालन गरेपछि सुन तस्करीको हालसम्मकै ठूलो जालोमा आक्रमण गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताएका छन् । उनै ढुंगानासँग गरिएको सुन अप्रेशनबारेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

यति ठूलो परिमाणमा सुन समाउन कसरी सम्भव भयो ?

हामीलाई १० दिन पहिले नै सूचना आएको थियो । सूचना साह्रै कच्चा थियो । त्यसपछि हामीले विभागको सिंगो टीमलाई एकीकृत गरेर सूचनाको परिपक्वता खोज्यौं । पछिल्लो तीन दिन बीचमा चाहिं हामी सफलता नजिक थियौँ ।

सुन समाउँदाको दृश्य अलिकति बयान गरिदिनुस् न ?

विमानस्थलमा सुन भित्रिएको, भन्सार पास हुने प्रक्रिया र बाहिर पठाउन सक्ने विमानस्थलका सबै विन्दुमा हामीले सिभिलमा विभागको सम्पूर्ण जनशक्ति परिचालन गरेका थियौँ । विमानस्थलको यात्रु गेटदेखि कार्गो क्षेत्रका भित्र र बाहिर कडा निगरानीमा हामी थियौँ । विभागका निर्देशकहरु सडकमा रेक्की गरेर बसेका थिए । यो अत्यन्तै गोप्य अप्रेशन थियो । सुन कार्गो बिल्डिङबाट बाहिर गेटमा आइपुगेर सडकमा पुगेपछि हामीले समातेका हौं । १० सेकेन्ड मात्रै ढिला भएको भए सुन बोकेको ट्याक्सी निस्किन सक्ने अवस्था थियो ।

विमानस्थल प्रशासन, सुरक्षा निकाय र भन्सार यो अनुसन्धानमा संलग्न थिएन ?

थिएनन् । हामीलाई प्राप्त सूचना अनुसार यो अप्रेशन हामीले गोप्य गर्नु पर्ने थियो ।

यत्रो ठूलो अप्रेशन विभाग एक्लैले गर्न सम्भव थियो ?

यो हाम्रो अति विशेष अप्रेशन हो । सुन पास गराउन सूचना चुहिने आशंकामा पनि यसो गरिएको हो । यो कुरामा प्रधानमन्त्रीज्यू जानकार हुनुहुन्छ । उहाँले जस्तोसुकै परिस्थितिमा अघि बढ्नुस् भन्ने आदेश दिनु भएको छ । विभागका योग्य र दक्ष हाम्रा निर्देशकहरु, कर्मचारीहरु सबै यो सफलताको भागीदार हुनुहुन्छ ।

पक्राउ परेकाबाट केही थप रहस्या खुलेको छ ? केही ठूला मान्छेको नाम जोडिएको विषय के हो ?

खुल्दैछ, केही नयाँ कुरा पक्कै आउँछ, हामी अनुसन्धान गरिरहेका छौं । थप बोल्न मिल्दैन यो अनुसन्धानकै चरणमा छ ।

भन्सार प्रशासनले यो कुरा कतिबेला थाहा पायो ?

हामीले सुन बरामद गरेपछि परीक्षणका लागि भन्सार विभागको ल्याबमा लैजाँदा मात्रै जानकारी दिएका हौं । उहाँहरुले सुन प्रमाणित गरिदिएर पत्र दिनु भएको छ ।

यही वस्तु पटक–पटक आयात भएको देखिएको छ । यो संगठित तस्करी थियो ?

हामीले प्राप्त गरेको सूचना निकै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेका थियौं । जसमध्ये एउटा क्लु थियो, ‘सुन अरु कुनै वस्तुमा लुकाएर ल्याइन्छ र त्यो वस्तु व्यक्तिले बोक्ने भनेर भनिन्छ ।’ यो वस्तु १५४ किलो छ र यसलाई ‘बाइफुट’ भनिएको छ । १५४ किलोको वस्तु एउटा मान्छेले बोकेर जान त सकिन्न । त्यसपछि यही वस्तु सुन हो भन्नेमा निश्चित भयौं र हामीले ७ वटा आर्कमा कडा निगरानी गर्‍यौं । अन्तमा ट्याक्सीमा सामान लोड भएर फुत्किनै लाग्दा समातियो । यही ट्याक्सी हो समाउँ भन्दा उ सडकको पिचमा पुगिसकेको थियो ।

साभार : अनलाईन खबर

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com