२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

नौ पटक सगरमाथा चढेका पासाङ आरोहीका जीवनदाता पनि

लक्ष्य र आँट भए के हुँदैन र ? सोलुखुम्बुका पासाङ दावा शेर्पाले ३७ वर्षकै उमेरमा आठ पटक सगरमाथा चढिसके । उनले १२ पटक प्रयास गरे तर नौ पटक शिखरमा पुग्न सफल भए ।

२२ वर्षको उमेरदेखि सगरमाथा क्षेत्रमा आरोहण सहयोगीका रूपमा उनले काम गरे । पहिला उनी विदेशीलाई हिमाल चढ्न सघाउँथे । ‘क्लाइम्बिङ गाइड’का रूपमा काम गर्न थालेको वर्ष दिनपछि सन् २००९ मा उनी आफैंलाई सर्वोच्च शिखर पुग्ने रहर जाग्यो । अनि सोही वर्ष पहिलोपटक सर्वोच्च शिखरमा पाइला टेक्न सफल भएका थिए पासाङ । त्यसयता पासाङले नौपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

‘शिखरमा पुग्ने प्रयास १२ पल्ट गरेको थिएँ तर नौपल्ट सफल भएँ,’ आफ्नो आरोहण यात्राबारे उनी सुनाउँछन् ।

पासाङले हिमाल आरोहणलाई कीर्तिमानमा मात्रै सीमित गरेका छन् । आरोहणका क्रममा अरूको जीवनरक्षकको भूमिकासमेत निर्वाह गरेका छन् । सन् २०१९ मा अन्तिमपटक सगरमाथा चढेका उनले दुई दिनलगत्तै ८ हजार ७०० मिटरबाट भारतीय आरोही महिलाको शव निकालेर काठमाडौं ल्याएका थिए । उनले केहीपटक विदेशी आरोहीलाई बचाएका छन् ।

सन् २०१२ मा उनीसहितको टोली शिखरको छेउमै पुगेर फर्किनुपर्‍यो । अरूको अक्सिजन मास्क बिग्रिएपछि बचाउन आफ्नो मास्क दिए । ‘८ हजार ६०० मिटरमा पुगेपछि हाम्रो टिमका भारतीय आरोहीको अक्सिजन मास्क बिग्रियो । उनी तड्पिन थालेपछि मैले आफ्नो मास्क दिएँ र हामी त्यहींबाट फर्कियौं,’ पासाङ सुनाउँछन्,  ‘मलाई सास फेर्न असाध्यै गाह्रो भएको थियो । तर मैले मास्क दिएकाले ती भारतीयलाई जीवितै फर्काउन सफल भयौं ।’

पासाङ सन् २०१३ मा तिब्बततिरबाट हिमाल चढेका थिए । शिखरमा पुगेपछि ७६ वर्षीय जापानी आरोही अक्सिजन सकिएर सिकिस्त भए । पासाङको टोलीले उसैगरी आफ्नो अक्सिजन मास्क दिएर तलसम्म झारे । तर ८ हजार ५०० मिटरसम्म ल्याइसकेपछि जापानी आरोही बाँच्न सकेनन् ।

पासाङले देशको कूटनीतिमा समेत सघाउ पुग्ने गरी आरोहणका माध्यमले सन्देश प्रवाह गर्ने प्रयास गर्दै आएका छन् । वर्ष दिनअघि सन् २०२२ मा पासाङले अमेरिकाकै अग्लो माउन्ट देनालीको चुचुरोमा नेपाल र अमेरिकाको झण्डा फहराए । दुई देशबीच सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा उनले माउन्ट देनाली शिखरमा दुई देशको झन्डा फहराएका थिए ।

सम्बन्ध अझ गाढा र मित्रतापूर्ण रहोस् भनेर झन्डा फहराएको पासाङ बताउँछन् । सन् १९४८ नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । दुवै देशका नागरिक सम्मिलित आरोहण दलले एकता र मित्रताको सन्देश प्रवाह गरेको उनी सुनाउँछन् । अमेरिकी आरोही मार्क परेला र नेपालका आरोही कर्मा तेन्जिङको नेतृत्वको दलमा पासाङ दावासहित सात नेपाली थिए । उक्त टोलीलाई नेपालमैत्री दल नाम दिइएको थियो ।

पासाङको हिमाल आरोहण यात्रा सन् २००९ मा सुरु भयो र सन् २०१९ मा सगरमाथाको अन्तिमपटक सफल आरोहण गरे । २०१० मा दुई पटक, २०११, २०१३, २०१४, २०१६ र २०१८ मा उनले सगरमाथा शिखरमा पाइला टेके । पासाङले सन् २०२१ मा दशौंपल्ट सगरमाथाको चुचुरोमा टेक्ने प्रयास गरेका थिए । तर कोरोना संकर्मण भएर बीचबाटै फर्किनुपर्‍यो ।

शरद् (अक्टोबर) ऋतुमा हिमाल चढ्नु असाध्यै कठिन र जोखिमपूर्ण मानिन्छ । सन् २००० पछि कसैले अक्टोबरमा हिमाल चढ्ने आँट गरेको थिएन । तर शेर्पासहितको टोलीले १५ अक्टोबर २०१० मा सगरमाथाको सफल आरोहण गरेको थियो । नेपाल पर्यटन बोर्डका अनुसार २९ असोजमा अमेरिकी आरोही एरिक लार्सन नेतृत्वको आरोहण दलले सगरमाथा शिखरमा पाइला टेकेको थियो । उक्त टोलीमा पासाङ दावासहित सोलुखुम्बुका दावागेल्जेन शेर्पा, दोलखाका छिरिङ दोर्जे शेर्पा, खोटाङका निमादोर्जे तामाङ र संखुवासभाका पासाङतेम्बा शेर्पा पनि थिए । त्यसयता पनि कसैले अक्टोबरमा हिमाल आरोहण नगरेको पासाङ बताउँछन् ।

अक्टोबर २०२२ मा संयुक्त इमिरेट्स् अरबको आर्मी टोलीसहित उनले मनासलु हिमालको शिखर टेक्ने प्रयास गरेका थिए । तर क्याम्प २ सम्म पुगेपछि समस्याएर फर्किए । आफूसँगै अन्य आरोहीलाई समेत सगरमाथाको सफल आरोहणमा सघाएबापत पासाङ नेपाल, अमेरिकासहित विभिन्न देश र संघसंस्थाबाट सम्मानित भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com