२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सुन तस्करीमा नाम जोडिएका नेताहरूलाई अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न केन्द्रीय सदस्यहरूले माग गरेका छन् ।

केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा बैठकमा बोल्ने सदस्यहरूले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरि दोषी देखिए कारबाही गर्न माग गरेका हुन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम भेपमा सुन तस्करी प्रकरणमा जोडिएको भन्दै नेताहरूले महराप्रति पनि छानबिन हुनुपर्ने बताएका छन् ।

पार्टी भित्रका नेताहरूमा सुशासन कायम गराउन नसकेमा बाहिर पनि गराउन नसकिने भन्दै नेताहरूले पार्टीभित्रैबाट सुशासनप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् । बैठक स्थलमा कुराकानी गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको बताए । उनले नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठेको जिकिर गरे ।

पार्टी उपाध्यक्ष महराको सम्बन्धमा मिडियामा आउने बित्तिकै पक्राउ गर्ने कानुनी व्यवस्था नभएको भन्दै उनले अनुसन्धानको दायरामा ल्याउनुपर्नेगरी कुनै उजुरी नआएको बताए । यद्यपि कोही नेताहरूको संलग्नता यस्तो प्रकरणमा संलग्न भएको देखिएमा कारबाही गर्ने प्रधानमन्त्रीले बचन दिएकोले सो बचनमा विश्वास गर्नुपर्ने बताए ।​

यस्तै केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरूको संलग्नता पुष्टि भएमा नेताहरूलाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको उल्लेख गरे । उनले पार्टी बचाउने कि नेता बचाउने भन्ने सवाल उठ्ने भन्दै त्यस्तो अवस्थामा पार्टी बचाउन नेतालाई कारबाही गर्नुपर्ने बताए । उनले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न माओवादी केन्द्रको इज्जत बढेको भन्दै आफ्नै पार्टीका नेताहरू परे पनि कारबाही बाट पछि हट्नु नहुने बताए ।

त्यस्तै, केन्द्रीय सदस्य नारायणी शर्माले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दा पार्टी भित्रकै मान्छेहरू परे पनि छोड्नु नहुने बताए । अनुसन्धानमा दोषी देखिए कारबाही गरेर अघि बढ्नुपर्ने उनले बताए । उनले उपाध्यक्ष महराको सम्बन्धमा प्रश्न उठेको भन्दै सम्बन्धित निकायले आफ्नो ठाउँबाट अनुसन्धान गरिरहेकोमा विश्वास व्यक्त गरे । सबुत, प्रमाण फेला परेका कसैलाई पनि सरकारले नबचाउने उनले स्पष्ट पारे ।

केन्द्रीय सदस्य रामकुमार शर्माले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न फायर खोलिसकेपछि पछि हट्नु नहुने बताए । उनले आफ्नो अर्काको मान्छे हेरेर कारबाही गर्ने होइन कि पार्टी भित्रकै मान्छे दोषी देखिए पनि कारबाही गर्नुपर्ने बताए । उनले सुन प्रकरणमा नाम जोडिएका नेताहरूले पनि आफूमाथि छानबिन गर्न बैठकमै माग गरेको जानकारी गराए ।

केन्द्रीय सदस्य मुक्ति प्रधानले सुन तस्करी अथवा भ्रष्टाचारमा संलग्न पार्टीका शीर्ष नेताहरूको संलग्नता भए पनि नछाडिने बताए । उनले कारबाहीका लागि प्रमाण भने हुनुपर्ने बताए । उनले सुशासन, समृद्धि र सामाजिक न्यायको प्रत्याभूति दिनका लागि पार्टी र सरकार निर्मम हुन जरुरी रहेको उल्लेख गरे । उनले पार्टी उपाध्यक्ष अथवा मन्त्री, नेता, कार्यकर्ता जो परे पनि कारबाही गर्नुपर्छ भन्ने पक्षमा केन्द्रीय सदस्यहरूको एक स्वर रहेको बताए ।

उनले देशमा सुशासन कायम गर्न राष्ट्रघाती काम गर्नेहरूलाई कारबाही गर्नैपर्ने धारणा राखे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com