२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

‘आयातितका कारण स्थानीय दूधले बजार पाउन सकेन’

चितवन- आयातित दूधका कारण जिल्लामा उत्पादित दूधले बजार पाउन नसकेको सरोकारवालाले गुनासो गरेका छन् । पशु सेवा विभाग र राष्ट्रिय दुग्ध विकास बोर्डले आज यहाँ आयोजना गरेको छलफलका वक्ताहरूले विदेशबाट आयातित धुलो दूधका कारण नेपालमा उत्पादित दूधले बजार पाउन नसकेको बताए ।

आयातित दूधका कारण जिल्लामा उत्पादनसमेत कम हुँदै गएको उनीहरूको भनाइ थियो । केन्द्रीय दुग्ध सहकारी सङ्घका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले सरकार किसानप्रति जिम्मेवार बन्न नसक्दा कृषकले उत्पादन गरेको दूधले बजार पाउन नसकेको बताए । सीमा नाकामा गरिएको खुकुलोपनको फाइदा ठूला व्यवसायीले लिने गरेको उनको आरोप छ । उनले भने, ‘लम्पी स्किनका कारण दूध उत्पादन घटेको समयसमेतमा यहाँको दूधले बजार पाउन सकेको छैन ।’

अहिले उत्पादित दूधले बजार नपाउनु र गोदाममा धुलो दूधको स्टक रहनुले यो समस्या बढ्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगालेले बताए । राष्ट्रिय दुग्ध विकास बोर्डले कृषकलाई गर्ने व्यवहारका कराण कृषकको उत्पादित दूधले बजार पाउन नसकेको गुनासो उनले पोखे । उनले भने, ‘बोर्डले दूधको मूल्यमा एकरूपता ल्याउनुपर्छ ।’

नाकामा निगरानी नगर्दा भारतीय धुलो दूध ल्याएर नेपालमा घोलेर बेच्ने क्रम बढेको उनको भनाइ थियो । मैदाको गाडीमा दूध अवैध रूपमा भित्रिइरहेकाले यसलाई रोक्न राज्यले ध्यान दिनुपर्ने उनले बताए । सरकारको कमजोरीका कारण कृषकले उत्पादन गरेको दूधले बजार पाउन नसकेको उनले बताए ।

जिल्लाबाट दैनिक एक लाख ५० हजार लिटरभन्दा बढी दूध बाहिर जाने गरेको भए पनि अहिले यो घट्दो क्रममा रहेको र जिल्लाभित्रैसमेत खपत कम हुँदै गएको उनले जानकारी दिए । उनले थपे, ‘सहकारीको दूध सङ्कलनमा दैनिक १६ हजार लिटरले कमी आएको छ ।’

सङ्घका सचिव कल्याण अधिकारीले तीन महिना अघिसम्म उत्पादन र खपत बराबर भएकोमा अहिले आएर बिक्री नहुनुले कृषक चिन्तित भएको बताए । कार्यक्रममा कृषक शिवलाल कँडेल, ऋषीराम चापागाईँ, नन्दलाल दाहाललगायतले अहिले देखिएको समस्यामा सरकार गम्भीर बनेर लाग्न सुझाव दिए ।

कार्यक्रममा पशु सेवा विभागकी सहसचिव डा सुलोचना श्रेष्ठ, राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाका डा सूर्यप्रसाद पौडेल, राष्ट्रिय दुग्ध विकास बोर्डका उपकार्यकारी निर्देशक डा वालक चौधरी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत राजन कार्कीलगायतले अहिले देखिएको समस्या समाधानका लागि सबैले सहयोग गर्नुपर्ने बताए । दूध खरिद गर्ने संस्थालाई दूधको मूल्यसूची टाँस्ने र आयातित दूधलाई नियन्त्रण गर्ने विषयमा कार्यालयले छलफल सुरु गरेको सो अवसरमा जानकारी दिइएको थियो । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com