२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

रविना थापाद्वारा एनआरएनए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडौँ- गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११ औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमबार उम्मेदवारी दर्ता गरेकी छिन् । उनलाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गरेका छन् ।

उम्मेदवारी दर्तापछि रविना थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो कामकाे सुरुवात गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाइ दिन चाहेको बताइन् । उनले काम गरेर देखाएकाले सबैको समर्थनमा आफू विजयी हुने दाबी गरिन् । विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको बताउँदै थापाले विदेशको श्रम बजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि बलियो आर्थिक र सामाजिक हैसियत बनाएका नेपालीहरूको भावनाको प्रतिनिधित्व आफूले गर्नसक्ने बताइन् ।

वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपबाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेदवारी छोडेर रविना थापालाई समर्थन गरेको बताए । आपसी विवाद र गुटबन्दीले संघको छवि धुमिलिएको बताउँदै अधिकारीले सहमति, सहकार्य र एकता नै अब को आवश्यकता औँल्याउँदै  त्यसका लागि रविना थापा एक मात्र विकल्प रहेको दाबी गरे । अर्का  प्रस्तावकमा विष्णु बानिया जापानमा रहेका छन् ।

यसैगरी समर्थकमा गगन गुरुङ, अमेरिका र सुरेश कोइराला अमेरिका रहेका छन् ।​ रविना हाल अध्यक्ष हुन् । उनले ६ महिना कार्यकारी अध्यक्ष रहँदा घुम्ती रक्तसञ्चार बस (मोबाइल ब्लड बस ) को सुरुवात भएको थियो । हाल २ प्रदेशमा हस्तान्तरणको चरणमा छ ।

यसैगरी पोखरामा स्मार्ट शौचालय निर्माण भएको थियो । सेन्सर जडित स्मार्ट शौचालय अपाङ्गमैत्री छ । छुट्टै स्तनपान कक्ष रहेको यस शौचालयमा महिलाका लागि सेनेटरी प्याड भ्यान्डिङ मेसिन जडान गरिएको छ । शौचालयको मलमुत्रबाट बायो ग्यास निकाल्ने गरी बायोडाइजेष्टर जडान गरिएको छ ।

अध्यक्ष थापाले केही दिनअघि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई उक्त स्मार्ट शौचालयको साँचो हस्तान्तरण गरेकी हुन् । यसैगरी उदयपुरको गाईघाटमा ४ वटा र कंचनपुरमा १ वटा सफा शौचालय हस्तान्तरण भएको छ ।

विदेशमा रहेका नेपालीलाई नेपाली नागरिकताका लागि उनको नेतृत्वमा पहल भएको थियो । त्यतिबेला संसदमा प्रवेश पाएको विधेयक पारित भई हाल नेपाल सरकारले गैर आवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधान राजपत्रमै प्रकाशित गरी लागू गरिसकेको छ ।

रविना कार्यकारी अध्यक्ष रहेकै बेला नेपाली खेलकुदको इतिहासमा पहिलो पटक पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिम सहभागी भई खेलाडीहरूले पदक समेत  जितेका थिए । यसैगरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीलाई  सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम पनि रविना कार्यकारी  नेतृत्वमा रहँदा भएको थियो ।

यही असोज ३० गतेदेखि काठमाडौँमा सुरु हुने गैर आवासीय नेपाली संघको ११ औँ महाधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै छ । पहिलो पटक अनलाइन निर्वाचनको अभ्यास पनि एनआरएनएले गर्दैछ ।

महाधिवेशनमा भाग लिन प्रतिनिधिहरू विभिन्न  देशबाट काठमाडौँ आइपुगेकाे छन् । विदेशमा रहेकाले अनलाइन भोटिङ गर्ने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com