२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

रानीपोखरीको बालगोपालेश्वरमा भाइटीका

काठमाडौँ- काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउन थालिएको छ ।

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरूलाई भाइटीका लगाउन सुरू गरिएको हो ।

दिदीबहिनी नहुनेका लागि वर्षमा (आज) एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने प्रचलन रहेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्ने गर्दछ ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् ।

तिहारको पाँचौँ दिन आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था  निष्ठाका साथ दीर्घायु, आरोग्य  ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा रहेको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दीप, कलश र गणेशको पूजा गरी मुल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतिक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनालाई पृथ्वी लोकमा भेट्न आएका र यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइ पृथ्वी लोकमा भाइटीका लगाएको पौराणिक कथा छ ।

त्यो बेलामा यमपञ्चक परेको र यमपञ्चकभर यमराज यमुनाकोमा बसेर भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिएर दाजुसँग आशिर्वाद लिएको कथा छ ।

तस्बिरहरू : रासस

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com