२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

गाजा युद्ध सन् २०२४ भर जारी रहने इजराइली सेनाको चेतावनी

गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र)- गाजामा लगातार हमलामा दुई दर्जन मानिस मारिएको र प्यालेस्टिनी लडाकू समूह हमासले आधा रातमा रकेट हमला गरेको भन्दै इजराइलले हमासविरुद्ध उसको युद्ध सन् २०२४ भर जारी रहने चेतावनी दिएको छ ।

इजराइली सेनाका प्रवक्ता डेनियल हगारीले नयाँ वर्षको सन्देशमा तीन लाख सेना रिजर्भमध्ये केहीलाई आगामी ‘लामो लडाइँ’ का लागि युद्धबाट विश्राम दिइने बताए । ‘सेनाले यो पूरा वर्ष थप कार्य र युद्धको आवश्यकतालाई बुझेर भावी योजना बनाउनुपर्छ,’ अक्टोबर ७ मा हमासको हमलाबाट सुरु भएको द्वन्द्व अझ बढेको भन्दै उनले भने ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार हमास शासित गाजामा पुनः गोलाबारी हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजापट्टीमा ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको छ ।

घेरामा परेको गाजापट्टीमा २० वर्षीय हमदान अबु अरबले सन् २०२४ अझ राम्रो हुने आशा व्यक्त गरे । ‘हामी वर्षको अन्तिम दिन बाहिर जान्थ्यौँ र आफ्नो समयको आनन्द लिन्थ्यौँ, तर यो नयाँ वर्षको पूर्वसन्ध्यामा क्षेप्यास्त्र र मानिसहरूको अवशेषहरू मात्र छन्,’ अबु अरबले भने ।

हमासले वर्षको सुरुआत इजराइलमा रकेट हमला गर्दै यसलाई ‘नागरिकहरूको नरसंहारको प्रतिक्रिया’ भनेको छ । रकेट हमला गरेपछि तुरुन्तै २६ वर्षीय गेब्रियल जेमेलम्यानले भने, ‘मेरो मुटु धड्किरहेको थियो, यो भयानक छ, तपाईंले हामीले जुन जीवन बाँचेको देख्नुभयो, यो पागलपनले भरिएको छ ।’

इजराइलले हमासलाई ध्वस्त पार्ने वाचा गरेको छ र दण्डात्मक आक्रमण सुरु गरेको छ । यसले गाजाको विशाल क्षेत्रलाई भग्नावशेषमा परिणत गरेको छ । इजराइली हमलामा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा २१ हजार आठ सय २२ जना मारिएका छन् । इजराइली सेनाका अनुसार गाजाभित्र इस्लामिक लडाकू समूह हमासविरुद्धको युद्धमा उसका एक सय ७२ सैनिक मारिएका छन् ।

इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले शनिबार हमासको अन्त्य र बन्धकलाई फिर्ता नगरेसम्म युद्ध धेरै महिनासम्म चल्ने चेतावनी दिएका थिए ।

‘हामीले हाल गाजामा सेना परिचालन र रिजर्भ प्रणालीको योजनालाई पनि अनुकूल बनाउँदैछौँ, केही रिजर्भका सेना यसै साता उनीहरूको परिवार र रोजगारीमा फर्किनेछन्,’ प्रवक्ता हगारीले भने, ‘यसबाट अर्थतन्त्रको बोझलाई उल्लेखनीय रूपमा कम गर्नेछ र उनीहरूलाई अर्को वर्षमा आगामी गतिविधिहरूका लागि शक्ति जम्मा गर्न सहयोग पुग्नेछ, लडाइँ जारी रहने छ र उनीहरूको आवश्यकता अझै हुनेछ ।’

युद्धको सुरुआतमा इजराइलले घेराबन्दी गरेपछि गाजावासीहरूले खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभावको सामना गर्नु परिरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी नागरिकको ‘महामानवीय पीडा’ र ‘सामूहिक सजाय’ को निन्दा गरेका छन् । त्यस्तै विश्व स्वास्थ्य सङ्गठनले भोक र सङ्क्रामक रोगको चेतावनी दिएको छ । एएफपी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com