२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

१९ वर्षकी लेकिडोमा तामाङ बनिन गणित शिक्षक

काठमाडौँ— १९ वर्षीया लेकिडोमा तामाङलाई गत वैशाख ९ गते शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुँदै गर्दा एकैपल्टमा पास भइएला र जागिर खाइएला भन्ने लागेकै थिएन । उनलाई नलागेर के भो र, सामान्य ज्ञानसम्बन्धी (पहिलो पत्र) परीक्षामा एकैपल्टमा सफल भइन् ।

भदौ ९ गते विषयगत परीक्षा (दोस्रो पत्र) पास गरिवरी पुस २३ गतेको अन्तर्वार्तामा पनि नाम निस्केपछि त उनी शिक्षक भइहालिन् । उनले सुनाइन्, ‘माघ २ गते नतिजा सार्वजनिक हुँदा १६ औं नम्बरमा नाम निस्केछ, जागिर त खानैपर्ने भयो ।’

शिक्षक सेवा आयोगले कोशी प्रदेशका लागि गणित विषयमा ४७ जनाको दरबन्दी खुलाएको थियो । जसमा ८ सय ५३ जनाले दरखास्त दिएकामा ५ सय ५९ जनाले पहिलो पत्र उत्तीर्ण गरे । तीमध्ये ६४ जना दोस्रो पत्रमा उत्तीर्ण भएर अन्तर्वार्ताका लागि योग्य ठहरिए । लेकिडोमाको नाम भने १६ औं नम्बरमा निस्कियो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमी डाडाँमा २०६१ वैशाख २६ मा जन्मेकी लेकिडोमाले १४ वर्ष पूरा नभइ एसईई दिन नपाइने भएपछि कक्षा ९ को रजिस्ट्रेसन फारम भर्दा उमेर घटाएर २०६० फागुन उल्लेख गरेकी थिइन् । त्यसैले जन्मेको मितिले उनी १९ वर्ष पुग्दै छन् भने नागरिकताका हिसाबले २० वर्ष । यिनै तामाङ हालै शिक्षक सेवा आयोगले सार्वजनिक गरेको निम्न माध्यमिक तह गणित विषयको परीक्षामा नाम निस्केपछि चर्चामा छन् । भनिन्, ‘एकैचोटिमा नाम निस्कन्छ भन्ने नै लागेको थिएन । तर निस्क्यो । आफैं सरप्राइज भएकी छु । ठूलाबडा सबैले बधाई दिँदा काँध पनि गहुँगो भएझैं लागेको छ ।’

२०७४ सालमा सिद्धकाली मावि फेदायपबाट एसईई उत्तीर्ण गरेर २०७६ सालमा फिदिम स्थित कञ्चनजंघा माविबाट गणित विषयमा प्लस टू सकेकी लेकिडोमा अहिले सुकुना बहुमुखी क्याम्पस मोरङमा बीए दोस्रो वर्षमा अध्ययनरत छन् । २०७९ मा उनले शिक्षकको लाइसेन्स परीक्षा पास गरेकी थिइन् । स्थायी शिक्षकमा नाम निस्केपछि उनी अब गृहजिल्लामै आएर सेवा गर्ने तयारीमा जुटेकी छन् ।

लेकिडोमाको परिवारमा उनी पहिलो शिक्षक होइनन् । उनकी आमा वीरमाया सिद्धकाली मावि फेदायपको निमावि तहमा सामाजिक विषय शिक्षण गर्छिन् भने बुबा सन्तवीर सिद्धदेवी मावि नवमीडाँडामा गणित पढाउँछन् ।

लेकिडोमाले स्कुल पढेको सिद्धकाली माविका प्रधानाध्यापक नन्दीकेशर तुम्रोकले उनी सानैदेखि पढाइमा अब्बल भएको र हाजिरी–जवाफ, वक्तृत्वकला र निबन्ध लेखनमा धेरैपटक जिल्ला प्रथम भएको बताए । भने, ‘कक्षा १ देखि ५ कक्षासम्म दोस्रो र ६ देखि १० सम्म पहिलो भएको रेकर्ड नै छ ।’

प्रधानाध्यापक तुम्रोकले कक्षा ९ र १० मा ऐच्छिक गणित विषय पढ्ने उनी एक्लो विद्यार्थी भएको बताउँदै भने, ‘उनको ब्याचमा एक्ली थिइन् र प्रश्नपत्र पनि उनका लागि मात्रै आउँथ्यो ।’

कलिलो उमेरमा शिक्षक सेवा आयोग उत्तीर्ण गरेकी   लेकिडोमा देशमै केही गर्न सकिन्छ भन्ने मान्यता राख्छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com