२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

६ महिनामा ११६ अवैध हतियार बरामद, १३४ जना पक्राउ

काठमाडौं । प्रहरीले पछिल्लो ६ महिनामा ११६ अवैध हतियारसहित १ सय ३४ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालका अनुसार, बरामद भएकामध्ये ६ वटा पेस्तोल, ४ रिभल्वर, १७ कटुवा पेस्तोल, ६ बन्दुक, ८१ भरुवा बन्दुक र २ एयर गन छन् ।

पक्राउ परेकाहरुबाट पेस्तोलको गोली ५३ राउण्ड, रिभल्वरको २२ राउण्ड, कटुवाको १७ राउण्ड, बाह्रबोरको १९ राउण्ड, बन्दुकको २० राउण्ड, भरूवाको ९३ राउण्ड र अन्य ३ राउण्ड गरी जम्मा २ सय २७ राउण्ड गोली समेत बरामद भएको ढकालले बताए ।

काठमाडौं उपत्यकाबाट ७ थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेश प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र ६ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली बरामद भएको उनले बताए ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रिय रहने नीति अनुसार प्रहरीले अवैध हतियारविरुद्ध सुक्ष्म निगरानी गरिरहेको डीआईजी ढकाल बताउँछन् । त्यसक्रममा १३४ जना पक्राउ परेका हुन्, पक्राउ पर्नेमध्ये ६ जना विदेशी नागरिक छन् ।

‘नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा महत्वपूर्ण सफलता हात पर्दै आएको छ’, प्रवक्ता ढकालले भने, ‘सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ ।’

विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको ढकाल बताउँछन् ।

‘तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ’, ढकालले भने, ‘नियन्त्रणमा लिइएका व्यक्ति तथा हतियार सम्बन्धमा हातहतियार तथा खरखजाना सम्बन्धि कसूरमा अनुसन्धान एवम् कारवाही हुने गरेको छ ।’

डीआईजी ढकालले अवैध हतियार कतै लुकाइराखेको थाहा भएका नेपाल प्रहरीलाई सूचना दिन वा सम्बन्धित व्यक्ति स्वयम्लाई पनि प्रहरीसमक्ष अवैध हतियार बुझाउन उनले आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com