२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

फुङ्लिङ (ताप्लेजुङ)- ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरू यसतर्फ आकर्षिक भएका हुन् ।

फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थालेकी छन् । उनीसँग चिराइतो खेतीको लामो अनुभव छ । विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाएकी लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लागेकी थिइन् ।

फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गर्थिन् । लामो समय चिराइतोको बजार मूल्यामा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उनले बताइन् । लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहेकी छन् ।

फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई पनि अहिले हाल चिराइतोको बीउ छर्नमा व्यस्त छन् । उनले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जग्गा तयार गरेका छन् । फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरेको राईले बताए ।

‘चिराइतोको बीउ तयार गरेको छु । अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु’, राईले भने, ‘एक वर्ष त चिराइतो बिक्री नै भएन । त्यसपछि सबैले खेती गर्न छोडेका थिए । यस वर्ष गाउँमा नै प्रतिमन रु ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आउनुभयो । तर गाउँमा उत्पादन न्यून थियो ।’

चिराइतोको उचित मूल्य आउने आशमा राईले दुई वर्ष अगाडि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती गरेकी थिइन् । आउँदो कात्तिकसम्ममा बिक्री गर्न योग्य हुने राईले बताए । गत वर्ष उनले १६ रोपनी क्षेत्रफलमा चिराइतो खेती गरेकी थिइन् । अहिले राईले ३० रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्न लागेका छन् ।

राईले भने, ‘अहिले लगाएको चिराइतो अबको २७ महिनामा उत्पादन हुने आशा छ ।’

केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउनसमेत मुस्किल परेको किसान बताउँछन् । विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना रु दुई हजार ५०० मा खरिद बिक्री हुने गरेको छ ।

फक्ताङलुङ–५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छाडेको चार वर्ष भएको थियो । तर अहिले चिराइतो खेती गर्नका लागि उनले आठ रोपनी जग्गा तयार गरेका छन् । ‘दुई वर्षयता चिराइतोको उचित बजार मूल्य पाइन थालेको छ । गाउँमा अहिले सबै चिराइतो खेती गर्ने तयारीमा छन्’ आङबोहाङले भने, ‘अहिले बजार मूल्य राम्रो पाइने आशले गाउँका प्रायः सबै किसान खेती गर्न लागेका छन् ।’

चिराइतो छर्ने समय सुरु भएको छ । चिराइतोका लागि वनजङ्गल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ । त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ । आगो लगाएको ठाउँमा केही दिनको अन्तरमा चिराइतो छर्नुपर्दछ । चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन् । उनीहरूले मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन ।

 

ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानले चिराइतो खेती गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष रुपमा चिराइतो उत्पादन हुन्छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ ।

जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार आठ सय २० किलो चिराइतो निकासी भएको छ । आव २०७८/७९ मा तीन हजार दुई सय ८० किलो चिराइतो निकासी भएको थियो ।

यस्तै आव २०७९/८० मा पाँच हजार आठ सय किलो चिराइतो निकासी भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिए । विसं २०७० यता ताप्लेजुङमा ३८ हजार किलो चिराइतो सङ्कलन भएको तथ्याङ्क छ ।

सो अवधिमा चिराइतोबाट रु सात लाख ९६ हजार राजस्व संकलन भएको थियो । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com