२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

सप्तकोसी बैंकका पूर्वसीइओ सुवेदीलाई ३ वर्ष ३ महिना कैद

विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजायको फैसला भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सुवेदीलाई ३ वर्ष ३ महिना १८ दिन सजाय निर्धारण गरेको हो ।

यसअघि गत जेठ २० गते सुवेदीलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको थियो । विशेषले सुवेदीलाई दोषी ठहर गरेको १२ दिनपछि सजाय र जरिवाना निर्धारण गरेको हो ।

सुवेदीले रेमिट्यान्स नै नआएको व्यक्तिहरूको नाममा फर्जी कारोबार गरेर आफन्तको नाममा सेयर कारोबार तथा घरजग्गाको कारोबार गरेको निष्कर्षसहित विशेषले दोषी ठहर गरेको थियो ।

विशेषले जेठ २० मा नवीन सुवेदीसहित हरिकुमारी सुवेदी र बबिता पोखरेललाई पनि दोषी ठहर गरेको थियो । विशेषले शुक्रबार सजाय निर्धारण गर्दै सुवेदीलाई सम्पत्ति शुद्धीकरण (मनि लन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा २० को उपदफा (१) बमोजिम ३ वर्ष कैद र बिगोको दोब्बर २ करोड ३६ लाख ५४ हजार ४०१ रुपैयाँ २० पैसा जरिवानाको फैसला गरेको छ ।

विशेषले उक्त फैसलाका क्रममा सुवेदीसँग अतिरिक्त जरिवाना र कैद हुने पनि उल्लेख गरेको छ । जसअनुसार उनले २३ लाख ७५ हजार ५४० अतिरिक्त जरिवाना र ३ महिना १८ दिन थप कैद सजाय भोग्नुपर्ने भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले २०८० असार २० गते सुवेदीसहितविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो । उनीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँभन्दा धेरै बिगो मागदाबी गरिएको थियो । विभागले उनका सन्तानको नाममा रहेको सम्पत्ति पनि जफत गर्न अदालतसमक्ष माग गरेको थियो ।

सुवेदीले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख), (ग) ले निषेधित कार्य गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।

के थियो प्रकरण ?

सुवेदीसमेतका प्रतिवादीहरूले २०७२ चैतदेखि २०७८ मंसिरसम्म रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’ मा रेमिट्यान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी बैंकलाई १५ करोड ७४ लाख ४० हजार ५७४ ठगी गरेको आरोप लागेको थयो ।

विभागका अनुसार बैंकिङ कसुर मुद्दाका प्रतिवादीहरूको खातामा अस्वाभाविक कारोबार भएको देखिँदा यसतर्फ सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान तथा कारबाहीका लागि उजुरी परेको थियो । त्यही बैंकिङ कसुर मुद्दामा उनको खातामा अस्वाभाविक रकम ‘ट्रान्जेक्सन’ देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा विभागले अनुसन्धान सुरु गरेको थियो ।

सुवेदीमाथि सप्तकोशी डेभलपमेन्ट बैंक घोटाला गरेको आरोपमा बैंकिङ्ग कसुर मुद्दा पनि छ । बैंकको सीईओ रहँदा सुवेदीसहित ९ जना कर्मचारी मिलेर सप्तकोशी बैंकको  १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोप छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com