२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्व : सभामुख घिमिरे

काठमाडौँ- सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन् । गाईजात्राका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले प्रहसनका माध्यमबाट सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन गर्ने चलन रहेको बताएका छन् ।

उनले गाईजात्राले नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलासँगै विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

गाईजात्रा नेवार संस्कृतिबाट प्रारम्भ भएकाले काठमाडौँ उपत्यका तथा देशविदेशमा नेवारहरूको बसोबास भएका सहरमा विशेष महत्वका साथ मनाइन्छ । नेवार समुदायमा वर्षदिनभित्र दिवङ्गत पितृको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन छ ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका पितृहरूले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।

प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म मनाउने यो पर्व राष्ट्रिय सांस्कृतिक पनि पर्व हो ।

“नेपाल बहुजातीय, बहुधार्मिक बहुसांस्कृतिक मुलुक हो । हाम्रा धार्मिक, सांस्कृतिक एवं परम्परामा आधारित चाडबाडले सामाजिक एकतासँगै समाजलाई अनुशासित र लोककल्याणकारी बनाउन ठूलो योगदान दिएका छन् । धर्म, संस्कार, संस्कृति, सामाजिक मूल्य र मान्यताका कारण नेपाललाई विश्वमै सांस्कृतिक वैभवशाली मुलुक मान्ने गरिएको छ”, शुभकामना सन्देशमा उल्लेख छ।

गाईजात्रा जस्ता चाडपर्वले सामाजिक, धार्मिक एवं सांस्कृतिक मूल्य र मान्यतालाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा स्वीकार गर्नसक्ने भावनाको विकास गर्न सक्नुपर्नेमा उनले जोड दिएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com