२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने १० पुलमा क्षति

कमलामाई– वर्षासँगै सुनकोसी नदीमा आएको बाढीले सिन्धुलीलाई रामेछाप र ओखलढुंगासँग जोड्ने १० वटा पुलमा क्षति पुर्‍याएको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षासँगै आएको बाढीले दुई पक्की पुल र आठ वटा झोलुंगे पुलमा क्षति भएको हो।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिका–१ लुगी जोड्ने पक्की पुल पूर्ण रूपमा बगाएको सुनकोसी–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए। उनका अनुसार कुशेश्वर दुम्जास्थित खैरनीघाटको पुल रोशी र सुनकोसी नदीमा आएको बाढीले बगाउँदा खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने यात्रीलाई सास्ती भएको छ।

खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष रमा घिसिङले पक्की पुलसँगै सुनकोसी–५ रामटारबाट खाँडादेवी–३ सित्खा जोड्ने झोलुंगे पुल बाढीले बगाएको बताउँदै सुनकोसीबाट खाँडादेवी जोड्ने बेलघारी झोलुंगे पुल र चैनपुरबाट पुछिघाट जोड्ने झोलुंगे पुल पूर्ण रूपमा क्षति भएको जानकारी दिइन्। यी पुलमा क्षति हुँदा सिन्धुलीसँगको सम्पर्क टुटेको उनले बताइन्।

“रामेछापलाई सिन्धुलीसँग जोड्ने एउटा पक्की र एउटा झोलुंगे पुल बाढीले पूर्ण रूपमा बगाएको छ। दुई वटा झोलुंगे पुल आवतजावत गर्न नमिल्ने गरी क्षति भएका छन्,” उनले भनिन्, “यसले खाँडादेवीबाट नियमित सिन्धुली पढ्न जाने ३५ जना विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ।” सिन्धुली आउन प्रयोग गर्दै आइएको पुल बाढीले बगाउनुका साथै नदीमा पानीको बहाव ठूलो भएकाले समस्या सिर्जना भएको छ।

गोलञ्जोर गाउँपालिका, सिन्धुली र मन्थली गाउँपालिका, रामेछाप जोड्ने दुई वटा पुल बगाएको छ। गोलञ्जोर–७ खुर्कोटस्थित एउटा पक्की र एउटा झोलुंगे पुल सुनकोसीमा आएको बाढीले बगाएको हो। मन्थलीतर्फ पक्की पुलको एउटा स्पान बगाएको र सोही पुल नजिकै रहेको झोलुंगे पुल पूर्ण रूपमा बगाउँदा रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बुसँगको सम्पर्क टुटेको गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए।

बाढीले पुल बगाएपछि रामेछापबाट आउने तरकारी तथा फलफूल ल्याउन नसकिँदा खुर्कोट बजारमा तरकारीको अभाव भएको होटल व्यवसायी मनोजकुमार श्रेष्ठले बताए। जताततै सडक अवरुद्ध हुँदा होटल व्यवसाय ठप्प भएका उनको गुनासो छ।

फिक्कल गाउँपालिका, सिन्धुलीअन्तर्गत रहेका दुई वटा झोलुंगे पुल पूर्ण रूपमा बगाएको छ। तीन वटा झोलुंगे पुलमा क्षति पुगेको गाउँपालिका उपाध्यक्ष राज बरालले जानकारी दिए। उनका अनुसार फिक्कल–४ खाङखाङबाट चम्पादेवी गाउँपालिका–१ ओखलढुंगा जोड्ने र फिक्कल–६ सुनकोसी गाउँपालिका–१ ओखलढुंगा जोड्ने पुल पूर्ण बगाएको हो।

फिक्कल–४ सुनकोसी–२ जोड्ने, फिक्कल–५ सुनकोसी–१ जोड्ने र फिक्कल–५ सुनकोसी–२ जोड्ने झोलुंगे पुलमा क्षति पुगेको उपाध्यक्ष बरालले जानकारी दिए। आवागमनको धेरै चाप हुने पुल बाढीले बढाउँदा दैनिक उपभाग्य वस्तु ओसारपसार तथा आवातजावत गर्ने यात्रुलाई समस्या परेको छ। पुल बगाउँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

सिन्धुली हुँदै रामेछाप, ओखलढुंगालगायत जिल्लामा दैनिक उपभोग्य सामान लैजान कठिन भएको छ। बाढीपहिरोले बगाएका तथा क्षति गरेका संरचना जतिसक्दो चाँडो पुनः निर्माण गरिदिन स्थानीयले आग्रह गरेका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com