२०८३ बैशाख ४ - Fri Apr, 2026 -

Janasewa News

एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताएका छिन् ।

कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलगको आजदेखि सुरु भएको सम्मेलनअन्तर्गत आयोजित ‘एसिडी बिजनेस फोरम’लाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, “अबको युगमा एआइलाई पछि छोडेर अघि बढ्न सकिँदैन, त्यसैले यसलाई मर्यादित रुपमा मानवहितमा प्रयोग गर्नुपर्दछ ।”

विश्व शान्ति, स्थिरता तथा समृद्धिका लागि एआइलाई सकारात्मक र सिर्जनात्मक साधनका रुपमा अँगाल्नुपर्ने मन्त्री डा राणाको भनाइ थियो । सो बिजनेस समिटको ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड न्यू बिजनेस मोडल’ विषयक सत्रमा उनले भनिन्, “आजको जटिल र प्रतिस्पर्धात्मक विश्वमा एआइ एक प्रकारको ‘गेम चेञ्जर’ का रुपमा आएको छ । यसको दुरुपयोग नभई सिर्जनात्मक प्रयोगबाट लाभ लिन सक्नुपर्छ ।”

मन्त्री डा राणाले एआइ अब कुनै एक प्रविधि अर्थात् प्राविधिक उपकरण मात्र सीमित नभएर मानवीय जीवनमा आवश्यक शिक्षा, स्वास्थ्य, सुशासन, आर्थिक विकास तथा सुरक्षालगायतका लागि प्रभावकारी साधन बनेको बताए । यो प्रविधिलाई देशको व्यापारिक तथा कर्पोरेट क्षेत्रले पनि आफ्ना व्यापारिक एवं व्यावसायिक प्रवर्द्धनका लागि प्रयोग गर्नसक्ने उनको सुझाव थियो । कर्पोरेट क्षेत्रका डाटाको प्रयोग र विश्लेषण एवं आफ्ना उत्पादन तथा सेवाको विस्तारमा एआइले सहयोग पुर्याउने उनले बताइन् ।

यसको प्रयोगबाट बजारको विश्लेषण एवं अनुसन्धान, उत्पादनका लागि दक्षताको सुधार एवं सूचना प्रणालीमा सहयोग पुग्ने मन्त्री डा राणाको भनाइ थियो । उनले यो प्रविधिको प्रयोगबाट लाभ पुग्ने भए पनि यसका जोखिम र चुनौतीहरू पनि बिर्सन नहुने तर्क गरिन् । कतिपय डाटा तथा तथ्यांकको गोपनीयता, गलत अर्थात् भ्रमपूर्ण सूचनाको प्रसार तथा रोजगारीमा आउन सक्ने गिरावटलाई यसका मुख्य चुनौतीका रुपमा लिने गरिएको उनको भनाइ छ ।

नेपाल वर्तमान संविधान जारी भएसँगै दिगो शान्ति, स्थिरता र समृद्धिको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई आह्वान गरिन् । उनले भनिन्, “नेपालमा लगानीको अनुकूल वातावरण निर्माण गर्न आवश्यक कानुन परिमार्जन गरेका छौँ । नेपाल सरकारले ऊर्जा, उत्पादन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिलाई लगानीका प्रमुख प्राथमिकतामा राखेको छ । एआइ नेपालमा लगानीको एक नयाँ क्षेत्र बन्न सक्छ ।”

सो बिजनेस समिटमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध नेपाली उद्योगी तथा व्यवसायीसँग समन्वय गरी नेपालमा लगानी गर्न मन्त्री डा राणाले विश्वका लगानीकर्तालाई आग्रह गरिन् । उनले भनिन्, “यहाँ उपस्थित सम्पूर्ण उद्योगी, व्यवसायी एवं लगानीकर्तालाई म यो आग्रह गर्न चाहन्छु कि अहिले नेपालमा लगानीको उचित अवसर र वातावरण छ । त्यसैले नेपालमा विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् ।”

मन्त्री डा राणा कतारको दोहामा आजदेखि सुरु भएको एसियन कोअपरेसन डायलगको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ पुगेकी हुन् । उनी संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर मङ्गलबार दोहा पुगेकी थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com