२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने

काठमाडौँ – गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरूको स्थायी रुपमा सुधार गर्न  सो बराबरको बजेट आवश्यक भएको जनाएको छ ।

मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोमा परी अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलब्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार भएको समेत बताए ।

“विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवम् जोखिम कम गर्न अतिआवश्यक काम बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी र सतर्कता अपनाउन अनुरोध गरिएको छ”, उनले भने, “असोज १२ गतेबाट अग्रिम टिकक बुकिङ गरेर यात्रुहरूलाई सुरक्षित ढङ्गले प्राथमिकता दिई यात्रुहरुलाई गन्तव्य स्थलमा पुर्याउन यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको छ ।”

काठमाडौँबाट छुट्ने यात्रुबाहक बसलाई उज्यालो छँदै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार क्षतिको विस्तृत विवरण संकलन जारी छ । प्रारम्भिकअनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र रु तीन अर्ब लाग्ने देखिएको छ ।

मन्त्रालयकासचिव केशवकुमार शर्माले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गहरूका आठ सय पाँच स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा सात सय ७४ स्थानको पहिरो हटाउने काम सकिएको बताए ।

“२९ वटा राजमार्गमा विभागीय तथा भाडाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायत सञ्चालन गरिसकिएको छ । अझैसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालन गर्न अनवरत प्रयास जारी छ”, उनले भने, “यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह्युम् पाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ ।”

यही असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण देशको विभिन्न भागका नदीहरूमा भीषण बाढी आउनुका साथै विभिन्न स्थानमा पहिरो जाँदा ठूलो जनधनको ठूलो क्षति भएको थियो ।

हाल अरनिको राजमार्गमा लार्चा–कोदारीको    पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ् पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ ।

बिपी राजमार्ग चौकीडाँडा–कालढुङ्गा १८ किमिमध्ये करिव १२ किमि सडक पूर्णरुपमा बगेका कारण केही स्थानमा सवारी साधनहरु रोकिएको अवस्था छ ।

“रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालन गरिने छ”, सचिव शर्माले भने, “पुष्पलाल (मध्यपहाडी) राजमार्ग    दोलालघाट–राकथुम ८० किमि खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ।”

शर्माका अनुसार कान्ति राजपथको घपेली–बगुवामा १३ किमि र बागमती पुलको दाँया–बाँया एप्रोच मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ ।

मेची राजमार्ग रमिते– फिदिमको आठ किमि, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । मन्त्रालयका अनुसार हेवा खोलामा अस्थायी  डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी भइरहेको छ । यी खण्डमा असोज १२ गतेदेखिनै सडक विभागमार्फत प्राविधिक, जनशक्ति र उपकरण परिचालन गरी खुलाउने प्रयास भइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com