२०८३ जेष्ठ १३ - Wed May, 2026 -

Janasewa News

तिहारका लागि फूलका ग्राहक पर्खदै दाङका किसान

घोराही । तिहार नजिकिँदै गर्दा दाङमा सयपत्री फूल ढकमक्क फूलेका छन् । व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन् । अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन् ।

घोराही उपमहानगरपालिका-१४ झिंगौराका ३९ वर्षीय लोकेन्द्र रोका मगरले सयपत्री फूल तयार पारिसकेका छन् । उनले विगत १२ वर्षदेखि फूलखेती गर्दै आएको बताए ।यसवर्ष पनि डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको र चाडपर्वमा मात्रै नभइ अन्य समयमा पनि आफूले बारीमा फूल फुलाइरहेको सुनाए ।

व्यावसायिक रूपमा फूलखेती गर्दै आएका उनी यही व्यवसायमा सन्तुष्ट छन्। ‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूलखेती थालेको हुँ। बाहिरी देशमा कमाएकोभन्दा आफ्नै देशमा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ”, रोका मगरले भने ।

रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोका मगरले जिल्लामा दशैं तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती थालेका हुन् ।

रोल्पा माडी गाउँपालिका-१ जबाङ दुदिलाबोट स्थायी घर भएका वीरेन्द्र खड्काले पनि घोराही उपमहानगरपालिका–१४ झिंगौरामै व्यावसायिक फूलखेती गर्दै आएका छन् ।  उनले यसवर्ष दुई बिघा बढी जग्गा भाडामा लिएर फूलखेती गरेका छन् ।

विगत चार/पाँच वर्षदेखि फूलखेती गर्दै आएका छन् ।  २६ वर्षीय उनले बालिविज्ञान विषयमा तीनवर्षे डिप्लोमा तह (आइएस्सीएजी) अध्ययन गरेका छन्। गतवर्ष तिहारको समयमा ७ लाख बढीको फूल बेचेर आम्दानी गरेका उनले यसवर्षको तिहारका लागि पनि फूल फुलाइसकेका छन् । यस्तै, घोराही उपमहानगरपालिका-१३ डुम्मर गाउँका इन्द्रा बुढाको बारीमा पनि यतिबेला फूल फुलेर ढकमक्क भएका छन् । यसवर्ष उनले १० कठ्ठा जग्गामा फूलको व्यावसायिक खेती गरेका छन् ।

बुढाले विगत आठ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको बताए । ‘विगत आठ वर्षदेखि यही खेती गरिरहेको छु । विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ’, उनले भने, ‘यसपटक पनि माग आउन थालिसक्यो । अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गछौँ।’

प्लास्टिकजन्य माला विस्थापित

तिहारको अवसरमा दाङको लमही नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ।

लमही नगरपालिकाभित्र विभिन्न पाँचजना व्यवसायीले सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन्। लमही नगरपालिकाको– ३, ५ र ६ मा गरी कूल २२ कठ्ठा १५ धुर क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती गरिएको कृषि शाखाले जानकारी दिएको छ।

जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com