२०८२ जेष्ठ ९ - Fri May, 2025 -

Janasewa News

राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली

झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् ।

नेकपा (एमाले)को झापा जिल्ला कमिटीले शनिबार (चैत ३०) दमकमा आयोजना गरेको जागरण सभामा उनले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरूलाई जनताले नपत्याएका’ टिप्पणी गरे ।

“देश अब कानुनानुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उत्साहित हुनु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकिएको छ,” प्रधानमन्त्री ओलीले भने, “विगमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरू अस्थिरतावादीहरूको कुनै भ्रममा पर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा  विकासका आयोजनाले अब गति लिने बताए । आउँदो बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढंगले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने उनले उल्लेख गरे । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो ।

उनले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्त्वपूर्ण कानुन ल्याएका छौँ । भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ । अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ ।”

भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्न संसद्को आउँदो अधिवेशनको सुरुमै कानुन ल्याइने उनले बताए । उनले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको सुनाए ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहोर्‍याए । एमालेबिनाको समृद्ध नेपालको सपना पूरा नहुनेमा उनले जोड दिए । “एमाले अझ विशाल हुनेछ, जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ,” उनले भने ।

कोसी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले युवालाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको बताए ।

एमालेले आउँदो लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्ने उनले उद्घोष गरे । उनले ४० वर्षमुनिका युवालाई त्यस दिन काठमाडौं गएर राजतन्त्र फालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे ।

“एमालेको साथमा युवा छैनन्, एमालेमा युवा सिद्धिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु– अरू कुनै पार्टीले यति धेरै युवालाई भेला पार्न सक्दैनन्,” उनले भने, “युवाले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”

 

एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोसी प्रदेश इन्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत वक्ताले मुलुकको समसामयिक अवस्था तथा पार्टी गतिविधिबारे मन्तव्य व्यक्त गरेका थिए । रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com