सर्वोच्च अदालतको गेटमा रास्वपाका नेता कार्यकर्ताहरूको बाक्लो भिड

९ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा पार्टीका कार्यकर्ताको भिड लागेको छ ।
उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ ।
उक्त रिटमा आदेश आउन केहीबेर बाँकी हुँदा सर्वोच्च अदालतको गेटमा रास्वपाका नेता कार्यकर्ताहरूको बाक्लो भिड जम्मा भएको हो ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् । उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।



