बानियाँले विश्वासको मत लिने तालिका बाहिर आइरहँदा असन्तुष्ट १४ सांसद पत्रकार सम्मेलनको तयारीमा

हेटौँडा । बागमती प्रदेश सभाको नवनिर्मित अस्थायी भवनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अपराह्न ४ बजे विश्वासको मत लिने तालिका बाहिर आइरहँदा कांग्रेसकै असन्तुष्ट १४ प्रदेश सांसद भने काठमाडौँमै पत्रकार सम्मेलनको तयारीमा जुटेका छन् ।
सोमबार राति अबेरसम्म पनि असन्तुष्ट १४ सांसदसँग नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मुख्यमन्त्री बानियाँले कुनै भेटघाट र छलफल गरेका छैनन् । सोमबार राति अबेरसम्म १४ सांसद समूहको बैठक बसेको थियो । उनीहरूले मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
बानियाँले संसदीय दलको बोर्ड बनाएर केही सदस्यहरूलाई व्यवस्थापन गरेका छन् । ‘असन्तुष्टहरूसँग आइतबार भेट्ने भनिएको थियो । तर सोमबार रातिसम्म हाम्रो भेट भएको छैन,’ बहादुर सिंह लामाले मन्त्री नियुक्त गरेर शपथ हुन रोकिएका गोविन्द लम्सालले भने, ‘सभापतिज्यूको त्यस्तो समाचार चैँ सुन्यौँ तर अहिलेसम्म केही खबर आएको छैन ।’ उनले सकभर पार्टीमा सबैलाई मिलाऊँ भनेर आफूहरूको भगीरथ प्रयास जारी रहेको बताए । भने, ‘हामी छलफलमै छौँ, माननीय बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्रीहरू समेटिउन् भन्ने माग पनि सुनुवाइ भएको छैन,’ उनले भने, ‘हाम्रो समूहको बैठक भइरहेको छ, सामूहिक र सभापति तथा मुख्यमन्त्रीज्यूले बोलाउने छलफलबारे हामीलाई खबर छैन ।’



