प्रचण्डसँग रविले भने : नेपाली कांग्रेस र नेकपा एमालेले आफूलाई सुनियोजित रूपमा फसाए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई भेट्न बुधबार साँझ प्रचण्ड ललितपुरस्थित नख्खु कारागार पुगेका थिए ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भैरहवा नै गएर भेट्न चाहेको भएपनि समय नमिलेर नगएको बताए । लामिछानेको भैरहवा कारागारको भन्दा बसाइँ यहाँको राम्रो पाइएको बताए ।
उनले लामिछाने आफू प्रधानमन्त्री हुँदा दुई पटक गृहमन्त्री भएको भन्दै अभिभावकको हिसाबले भेटेको बताए। लामिछाने पहिलाको भन्दा दुब्लाएको पाएको पनि सुनाए ।
प्रचण्डले भने, ‘मेरै जस्तो केसमा अरूले चाहिँ उन्मुक्ति पाउने, मेरो भन्दा गम्भीर केस भएकालाई उन्मुक्ति दिइयो, मलाई मात्रै लखेटियो भन्ने कुरा राख्नुभयो। मैले सदनदेखि सडकसम्ममा पनि बोलेको कुरा उहाँलाई थाहा छँदै थियो। अदालतले नै तोकेको बिगो बैङ्क धरौटी राखेर मुद्दा लड्छु भन्दा पनि सुविधा पाइनँ ।’
उनले गठबन्धन आफूप्रति अनुदार भएको गुनासो गरेको बताए। बिगो बुझाएर मुद्दा लड्न पाउने कुरालाई सबैले विचार गर्नुपर्ने बताए ।



